संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुने कार्यसूची रहेको छ। दुवै सदनको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा प्रश्नोत्तरसम्बन्धी विषयमा छलफल हुने भएको छ।
प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूची छ। त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन्।
कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पनि विभिन्न स्वास्थ्यसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछिन्।
प्रतिनिधिसभाको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूची पनि रहेको छ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूले दिएको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। साथै, राष्ट्रपतिबाट प्राप्त पत्र सभामुखले बैठकमा पढेर सुनाउने कार्यक्रम छ।
राष्ट्रियसभामा दुई विषय मुख्य
राष्ट्रियसभाको बैठकमा पनि सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नेछन्। त्यसपछि प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।
त्यस्तै, राष्ट्रियसभाको आजको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची रहेको छ। यससँगै आजका बैठकबाट विभिन्न कानुनी तथा नीतिगत विषयलाई अघि बढाउने तयारी गरिएको छ।

