Banijya News

वर्षाले कोरला नाका प्रभावित, भन्सार यार्डमै थन्किए १५० बढी कन्टेनर

1
1.0K Shares

भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि चीनबाट आयात गरिएका मालसामान बोकेका सयौँ कन्टेनर कोरलानाकामै रोकिएका छन्। सडकका विभिन्न स्थानमा बाढी, पहिरो तथा नदी कटानले क्षति पुर्‍याएपछि चीनसँगको उत्तरी व्यापारिक नाका कोरलाबाट हुने आयात–निर्यात प्रभावित भएको हो।

गत शनिबार रातिदेखि परेको निरन्तर वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका करिब ४६ स्थानमा क्षति पुगेको छ। सडक अवरुद्ध भएपछि चीनबाट मालसामान बोकेर कोरलानाका पुगेका कन्टेनर गन्तव्यतर्फ जान सकेका छैनन्। यसले दसैँ–तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका वस्तुको ढुवानीसमेत प्रभावित भएको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाका हुँदै नेपाल भित्रिएका अधिकांश मालसामानको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ। तर सडक अवरुद्ध हुँदा ती सामान बोकेका कन्टेनर भन्सार यार्डमै रोकिएका छन्।

उनका अनुसार कोरलास्थित भन्सार यार्डमा अहिले १५० भन्दा बढी कन्टेनर छन्। तीमध्ये करिब ९० प्रतिशत कन्टेनरको भन्सार जाँचपास पूरा भइसकेको छ। बाँकी कन्टेनरको जाँचपास प्रक्रिया पनि दुई दिनभित्र सम्पन्न गर्ने तयारी रहेको भन्सार कार्यालयले जनाएको छ। तर जाँचपास पूरा भए पनि सडक सञ्चालनमा नआएसम्म मालसामान गन्तव्यतर्फ पठाउन कठिन हुने अवस्था छ।

तातोपानी र रसुवागढी नाका बाढी तथा पहिरोका कारण बन्द भएपछि चीनसँगको व्यापारका लागि कोरलानाका महत्वपूर्ण वैकल्पिक मार्ग बनेको थियो। तर कोरला सडकखण्डमै बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएपछि यो नाका पनि प्रभावित बनेको हो।

भन्सार प्रमुख चुडालका अनुसार दसैँ–तिहार लक्षित सामान आयात हुने मुख्य समयमा सडक अवरुद्ध हुँदा व्यापारसँगै सरकारी राजस्व संकलनमा समेत असर पर्ने देखिएको छ। रसुवागढी–केरुङ नाका गत भदौ १० गते बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट आयात बढेको थियो। त्यस समयमा मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो।

कोरलानाका हुँदै नेपालमा तयारी पोसाक, दैनिक उपभोग्य सामग्री, औद्योगिक कच्चापदार्थ, फलफूल, विद्युतीय सामग्री, लत्ताकपडा तथा विद्युतीय सवारीसाधनलगायत वस्तु भित्रिने गरेका छन्। दसैँ–तिहारको बजारलाई लक्षित गरी ठूलो परिमाणमा सामान आयात हुने समयमा सडक अवरुद्ध भएपछि व्यवसायी तथा आयातकर्तासमेत प्रभावित भएका छन्।

यसैबीच, सडक अवरोधका कारण करिब २०० विद्युतीय सवारीसाधन पनि गन्तव्यतर्फ जान सकेका छैनन्। सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म, जोमसोमका अनुसार तीमध्ये १०० भन्दा बढी विद्युतीय सवारीसाधन पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्क क्षेत्रमा रोकिएका छन्।

सडकका विभिन्न स्थानमा भएको क्षति तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन नसकिए आयातित सामानको ढुवानीमा थप ढिलाइ हुनुका साथै व्यापारिक गतिविधि र सरकारी राजस्वमा समेत असर पर्ने देखिएको छ। दसैँ–तिहारको बजार मागलाई ध्यानमा राखेर आयात भएका सामान लामो समयसम्म रोकिँदा त्यसको प्रत्यक्ष प्रभाव आपूर्ति व्यवस्थामा पर्न सक्ने अवस्था देखिएको छ।

1

Scroll to Top