अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई राज्यको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। पीडित परिवारसँग बिहीबार अर्थ मन्त्रालयमा सामूहिक भेट गर्दै अर्थमन्त्री वाग्लेले दुःखको घडीमा आफूहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे।
सरकारको राजस्व संकलनको जिम्मेवारी पूरा गर्दै रसुवामा कार्यरत कर्मचारीहरू अकल्पनीय प्राकृतिक विपत्तिमा परेको भन्दै उनले दुःख व्यक्त गरे। विपत्तिका बेला पूर्वसूचना र सतर्कतासमेत अपनाउन नसक्ने अवस्था सिर्जना हुँदा ठूलो मानवीय क्षति भएको उनले बताए।
“तपाईंहरू एक्लो हुनुहुन्न, हामी तपाईंहरूको साथमा छौँ,” परिवारका सदस्यलाई सान्त्वना दिँदै अर्थमन्त्री वाग्लेले भने। आफ्ना दक्ष र जिम्मेवार कर्मचारी गुमाउँदा अर्थ मन्त्रालय तथा भन्सार प्रशासनसमेत पीडामा रहेको उनले उल्लेख गरे।
उनले पीडित परिवारलाई आफ्ना समस्या तथा आवश्यकता मन्त्रालय र सम्बन्धित विभागसमक्ष खुलेर राख्न आग्रह गरे। परिवारले राखेका जायज मागलाई कानुनी आधारमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि उनले जनाए।
शिक्षा, भरणपोषण र रोजगारी प्राथमिकतामा
अर्थमन्त्री वाग्लेले बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका कर्मचारीका परिवारका सदस्यको शिक्षा, भरणपोषण र रोजगारीलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताए। उनले परिवारले भोगेको क्षति कुनै पनि सहयोगले पूर्ति गर्न नसकिने भए पनि आगामी दिनको जीवन सहज बनाउन राज्यले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए। “तपाईंहरूले भोग्नुभएको अपूरणीय क्षतिपूर्ति कुनै कुराले गर्न सक्दैन। तर तपाईंहरूको अबको दैनिकी र भविष्यको बाटो सरल बनाउन उच्च प्राथमिकताका साथ सहयोग गर्छौँ,” उनले भने।
पीडित परिवारका सदस्यहरूले भेटका क्रममा तयार पारेको प्राथमिक मागपत्र पनि अर्थमन्त्रीलाई बुझाएका थिए। मागपत्रमा परिवारको तत्कालीन आवश्यकता तथा भविष्यसँग जोडिएका विषय समेटिएका छन्। अर्थमन्त्रीले मागपत्रमा उल्लेखित विषयलाई कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाए। कानुनले तत्काल सम्बोधन गर्न सक्ने विषयलाई छिटो कार्यान्वयन गर्ने र कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर प्रक्रिया अघि बढाउने उनले बताए।
घटना दर्ता र छात्रवृत्तिमा पनि पहल
पीडित परिवारका सदस्यलाई आवश्यक कागजात तथा प्रशासनिक प्रक्रियामा सहजीकरण गर्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको अर्थमन्त्रीले जानकारी दिए। घटना दर्ता, बालबालिकाको शिक्षा तथा छात्रवृत्तिलगायत विषयलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए। बाढीमा परिवारको मुख्य आयस्रोत तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षामा समस्या नहोस् भन्ने विषयमा विशेष ध्यान दिइने उनको भनाइ थियो। यसैगरी बेपत्ता कर्मचारीको खोजी कार्य अझै जारी रहेको उनले परिवारलाई जानकारी गराए। सुरक्षाकर्मी परिचालन गरी सम्भावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको उनले बताए। पीडित परिवारलाई आवश्यक सहजीकरण गर्न अर्थ मन्त्रालयले विशेष कार्यदल गठन गर्ने भएको छ। अर्थमन्त्री वाग्लेले मन्त्रालय प्रशासनलाई निधन भएका तथा बेपत्ता कर्मचारीका परिवारसँग समन्वय गरी उनीहरूका समस्या सम्बोधन गर्न विशेष कार्यदल गठन गर्न निर्देशन दिएका छन्।
१५ कर्मचारीका परिवार मन्त्रालयमा
अर्थमन्त्रीसँग भेट गर्न रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारीका परिवारका सदस्यहरू मन्त्रालय पुगेका थिए। उनीहरूले बाढीमा परिवारको मुख्य आधारका रूपमा रहेका सदस्य गुमाएपछि भोगिरहेको शोक, पीडा तथा दैनिक जीवनका कठिनाइबारे अर्थमन्त्रीसमक्ष जानकारी गराएका थिए। परिवारका सदस्यहरूले आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाउँदा झनै पीडादायी अवस्था सिर्जना भएको बताएका थिए। उनीहरूले बेपत्ता कर्मचारीको खोजीलाई निरन्तरता दिनुपर्ने तथा परिवारको भविष्य सुरक्षित गर्न राज्यबाट आवश्यक सहयोग हुनुपर्ने माग राखेका थिए।
१४ कर्मचारी अझै बेपत्ता
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत भन्सार विभागका १५ जना कर्मचारी परेका थिए। बाढीमा नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए।
उनीहरूमध्ये भन्सार अधिकृत नकुल शर्माको शव मात्रै फेला परेको छ। शव फेला परेपछि उनको अन्तिम संस्कार गरिएको छ। बाँकी १४ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। प्राकृतिक विपत्तिमा आफ्ना परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका कर्मचारीका परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन संरक्षण आवश्यक देखिएको छ। अर्थमन्त्री वाग्लेले शिक्षा, रोजगारी, भरणपोषण, प्रशासनिक सहजीकरण तथा कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राज्य पीडित परिवारको साथमा रहेको स्पष्ट पारेका छन्। भोटेकोशी बाढीले भन्सार प्रशासनमा कार्यरत कर्मचारीका परिवारमा पुर्याएको क्षति गम्भीर रहेकाले बेपत्ता कर्मचारीको खोजी तथा परिवारको पुनर्स्थापनालाई सरकारले प्राथमिकताका साथ अघि बढाउने संकेत अर्थ मन्त्रालयको भेटपछि देखिएको छ।

