Banijya News

कोलकाता महावाणिज्यदूतावासमा दुई दरबन्दी खारेज, उपसचिव र शाखा अधिकृत फिर्ता हुँदै

1
1.0K Shares

भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासको जनशक्ति संरचना पुनर्संरचना गरिएपछि त्यहाँ कार्यरत एक उपसचिव र एक शाखा अधिकृत नेपाल फर्कने भएका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार दुई दरबन्दी कटौती भएपछि ती पदमा कार्यरत कर्मचारीलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको हो।

दरबन्दी कटौतीमा नेपाल प्रशासन सेवा, राजस्व समूहका उपसचिव तथा नायब महावाणिज्यदूत गगन बहादुर बि. के. र सामान्य प्रशासन समूहका शाखा अधिकृत तथा वाणिज्यदूत रोशन राई परेका छन्। उनीहरू कार्यरत पद नै कटौती भएपछि दुवै कर्मचारीलाई नेपाल फिर्ता ल्याउने तयारी परराष्ट्र मन्त्रालयले थालेको छ।

कोलकाता महावाणिज्यदूतावासमा यसअघि सातवटा दरबन्दी कायम रहेकामा पछिल्लो ओएन्डएम सर्वेक्षणबाट त्यसलाई घटाएर पाँचमा सीमित गरिएको छ। आवश्यकताका आधारमा जनशक्ति संरचना पुनरावलोकन गर्ने क्रममा राजस्वतर्फको उपसचिव र प्रशासनतर्फको शाखा अधिकृतको दरबन्दी हटाइएको हो।

दरबन्दी कटौतीसँगै ती पदमा कार्यरत गगन बहादुर बि. के. र रोशन राईको विदेशस्थित जिम्मेवारी पनि समाप्त हुने भएको छ। परराष्ट्र मन्त्रालयले उनीहरूको नेपाल फिर्तीका लागि आवश्यक सवारी तथा अन्य व्यवस्थापनको काम अघि बढाइरहेको छ।

हाल कोलकाता महावाणिज्यदूतावासमा महावाणिज्यदूतका रूपमा सहसचिव झक्कप्रसाद आचार्य कार्यरत छन्। त्यस्तै, नायब महावाणिज्यदूतका रूपमा दीपेश लेखक, वाणिज्यदूतका रूपमा टिकाराम उपाध्याय, उपवाणिज्यदूतका रूपमा लेखापाल सुभाषचन्द्र बास्तोला र परराष्ट्रतर्फका नायब सुब्बा सुरेशराज रेग्मी कार्यरत छन्। ओएन्डएमअनुसार गगन बि. के. र रोशन राईको दरबन्दी हटेपछि महावाणिज्यदूतावासमा पाँच कर्मचारीको संरचना कायम हुनेछ।

दरबन्दी कटौतीको निर्णयसँगै विदेशस्थित नेपाली नियोगहरूमा आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्ने सरकारको प्रयासका रूपमा यसलाई हेरिएको छ। लामो समयदेखि विदेशस्थित नियोगमा रहेका कर्मचारीको संख्या र कार्यक्षेत्रबीच उचित तालमेल हुनुपर्ने विषय उठ्दै आएको अवस्थामा संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी पुनरावलोकन गरिएको हो।

कोलकाता नेपाली व्यवसाय, श्रमिक, विद्यार्थी तथा अन्य नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको भारतीय शहर हो। त्यहाँको महावाणिज्यदूतावासले कन्सुलर सेवा, व्यापार तथा वाणिज्य प्रवर्द्धन, नेपाली नागरिकसँग सम्बन्धित प्रशासनिक काम तथा नेपाल–भारत सम्बन्धका विभिन्न व्यावहारिक पक्षमा सहजीकरण गर्दै आएको छ।

यस्तो अवस्थामा दरबन्दी घटाउँदा बाँकी जनशक्तिमाथि कामको जिम्मेवारी थपिन सक्ने भए पनि मन्त्रालयले आवश्यकताका आधारमा नयाँ संरचना कार्यान्वयन गर्न लागेको हो। कटौती गरिएका पदको जिम्मेवारी अब बाँकी कर्मचारीबीच कार्यविभाजनमार्फत व्यवस्थापन गर्ने तयारी छ।

परराष्ट्र मन्त्रालयले गगन बि. के. र राईलाई नेपाल फर्काउने क्रममा उनीहरूको व्यक्तिगत सामानसमेत ल्याउने व्यवस्था मिलाउने तयारी गरेको छ। मन्त्रालयको तयारीअनुसार उनीहरू दसैं मनाउन नेपाल आउने क्रममा यसपटक कोलकाता फर्किन नपर्ने गरी फिर्तीको व्यवस्थापन गरिनेछ।

यससँगै कोलकाता महावाणिज्यदूतावासको प्रशासनिक तथा कर्मचारी संरचना पाँच दरबन्दीमा सीमित हुनेछ। ओएन्डएम सर्वेक्षणबाट गरिएको यो पुनर्संरचनाले विदेशस्थित नेपाली नियोगमा आवश्यकताभन्दा बढी रहेको ठहर गरिएका पद कटौती गर्ने तथा उपलब्ध जनशक्तिलाई कार्यक्षेत्रअनुसार परिचालन गर्ने नीतिलाई अघि बढाएको देखिन्छ।

1

Scroll to Top