नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज विभिन्न महत्वपूर्ण गतिविधि हुँदैछन्। आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आजदेखि बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियासमेत अघि बढाइँदैछ।
महाधिवेशनको बन्द सत्र बिहान ९ बजेदेखि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बन्द सत्रमा पार्टीको आगामी राजनीतिक दिशा, समसामयिक विषय तथा संगठनसँग सम्बन्धित विषयमा छलफल हुने तयारी छ।
आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। दुवै नेताले प्रस्तुत गर्ने प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।
आइतबार काठमाडौंमा भएको उद्घाटन समारोहपछि कांग्रेसको महाधिवेशन औपचारिक रूपमा दोस्रो चरणमा प्रवेश गरेको हो। नेतृत्व चयनलाई महाधिवेशनको मुख्य आकर्षणका रूपमा हेरिएको छ। नयाँ केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा उम्मेदवारी दिने तयारी भइरहेका बेला आजदेखि निर्वाचनसम्बन्धी प्रारम्भिक प्रक्रिया पनि सुरु हुँदैछ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज साँझदेखि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। पहिलो चरणमा मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले साँझ ५ बजे मतदाता नामावली सार्वजनिक गर्ने समय तोकेको छ।
मतदाता नामावली प्रकाशनपछि त्यसउपर दाबी–विरोध दर्ताका लागि साँझ ६ः३० बजेसम्मको समय निर्धारण गरिएको छ। प्रकाशित नामावलीमा कुनै त्रुटि वा आपत्ति भए सम्बन्धित पक्षले तोकिएको समयभित्र निर्वाचन समितिसमक्ष दाबी–विरोध प्रस्तुत गर्न सक्नेछन्।
प्राप्त दाबी–विरोधमाथि निर्वाचन समितिले आवश्यक जाँचबुझ गर्नेछ। त्यसका लागि साँझ ७ः३० बजेसम्मको समय छुट्याइएको छ। दाबी–विरोधसम्बन्धी प्रक्रिया टुंग्याएपछि निर्वाचन समितिले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नेछ।
कार्यतालिकाअनुसार आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यससँगै आगामी निर्वाचनका लागि आधिकारिक मतदाता सूची टुंगो लाग्नेछ।
महाधिवेशनको बन्द सत्र र निर्वाचन प्रक्रिया एकै दिन अघि बढ्न लागेकाले कांग्रेसको १५औँ महाधिवेशन आजबाट थप निर्णायक चरणमा प्रवेश गर्ने देखिएको छ। राजनीतिक तथा समसामयिक प्रतिवेदनमाथिको छलफलसँगै नयाँ नेतृत्व चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया अघि बढेपछि महाधिवेशनको गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचनले आगामी कार्यदिशा र नेतृत्व संरचनाको टुंगो लगाउने भएकाले महाधिवेशन प्रतिनिधि तथा पार्टीभित्र यसको विशेष चासो देखिएको छ। आज बन्द सत्रमा हुने छलफल र निर्वाचन समितिले अघि बढाउने प्रक्रियालाई महाधिवेशनको महत्वपूर्ण चरणका रूपमा लिइएको छ।


