Banijya News

पर्यटनका साझा मुद्दामा एकजुट हुँदै महासंघ गठनको तयारी

1
1.0K Shares

पर्यटन क्षेत्रका साझा समस्या समाधान गर्न विभिन्न पर्यटनसम्बद्ध संघसंस्थालाई समेटेर ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ । पर्यटन क्षेत्रका समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत रूपमा संवाद र संयुक्त पहल गर्न महासंघ गठनको तयारी गरिएको हो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा आइतबार साँझ बसेको पर्यटनसम्बद्ध संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको बैठकले महासंघ गठन गरेर अघि बढ्ने निर्णय गरेको हो ।

बैठकमा नेपाल पर्यटन बोर्ड, टान, होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए), पाटा नेपाल, नारालगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रस्तावित महासंघले पर्यटन क्षेत्रका साझा विषयमा एकीकृत आवाज, समन्वय र सहकार्यको माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ । पर्यटन व्यवसायमा देखिएका साझा समस्या पहिचान गरी सरकार र सम्बन्धित निकायसँग सामूहिक रूपमा संवाद गर्ने तथा समाधानका लागि संयुक्त पहल गर्ने बैठकको निष्कर्ष छ ।

बैठकले भदौ १० गतेको बाढी तथा विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्मा अझै बेपत्ता रहेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

त्यस्तै, विपद्मा ज्यान गुमाएका तथा बेपत्ता पर्यटनकर्मी र उनीहरूका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरिएको छ । भदौ १० को विपद्का पीडितको स्मृतिमा अन्तर्राष्ट्रियस्तरको स्मारक पार्क निर्माण गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेका बेला बैठकले नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटन व्यवसायको वास्तविक अवस्थालाई समेट्ने गरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिएको छ । नयाँ ऐन व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित तथा दिगो पर्यटन विकासमा केन्द्रित हुनुपर्ने व्यवसायीको धारणा छ ।

बैठकमा नेपाल पर्यटन बोर्डको बजेट तथा कार्यक्रमबारे पनि छलफल भएको थियो । निजी क्षेत्रका प्रतिनिधिले वर्तमान पर्यटन बजार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र उद्योगको आवश्यकतालाई ध्यानमा राख्दै बोर्डको बजेट पर्यटनमैत्री, व्यवसायमैत्री, परिणाममुखी र परिवर्तनकारी हुनुपर्ने बताएका छन् ।

पर्यटन प्रवद्र्धनलाई बजेट खर्चमा मात्र सीमित नगरी बजार अनुसन्धान, अन्तर्राष्ट्रिय मार्केटिङ, डिजिटल तथा एआई प्रविधिको प्रयोग, नयाँ पर्यटक बजार विस्तार, नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकास र मापनयोग्य परिणामसँग जोड्नुपर्नेमा बैठकले जोड दिएको छ ।

1

Scroll to Top