Banijya News

राष्ट्र बैंकले २ रुपैयाँका ३० करोड सिक्का टकमरी गर्ने

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान सिक्का टकमरी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै पूर्व–योग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो ।

साना दरका मुद्रा तथा सिक्काको उपलब्धता सहज बनाउने र सिक्काको मौज्दात व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले टकमरी तथा आपूर्तिको प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि आइतबार मात्रै केन्द्रीय बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का टकमरी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । १ रुपैयाँ र २ रुपैयाँ दरका सिक्काका लागि लगातार दुई दिन बोलपत्र आह्वान भएसँगै राष्ट्र बैंकले कुल ७० करोड थान सिक्का उत्पादन तथा आपूर्तिको प्रक्रिया अघि बढाएको छ ।

राष्ट्र बैंकका अनुसार २ रुपैयाँ दरका सिक्काको बोलपत्र ‘एकल चरण, दुई खाम’ प्रणालीबाट हुनेछ । इच्छुक कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेश गर्नुपर्नेछ । बोलपत्र प्रक्रियामा सहभागी हुन चाहने कम्पनीले आगामी ३ नोभेम्बर २०२६ सम्म २० हजार रुपैयाँ दस्तुर तिरेर बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् । कागजात खरिदका लागि १३१ अमेरिकी डलर वा ११५ युरो तिर्न सकिने व्यवस्था पनि गरिएको छ ।

बोलपत्रसम्बन्धी प्रि–बिड बैठक अक्टोबर १६ मा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना हुनेछ । कम्पनीहरूले नोभेम्बर ४, २०२६ को दिउँसो १२ बजेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ । पेश भएका बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले जनाएको छ ।

बोलपत्रमा सहभागी हुने कम्पनीले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी अर्थात् जमानत रकम पेश गर्नुपर्नेछ । यस्तो जमानत विदेशी मुद्रा वा नेपाली रुपैयाँमा समेत राख्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार बोलपत्र खुलेको मितिदेखि १२० दिनसम्म बोलपत्र मान्य रहनेछ । त्यस्तै, बोलपत्रसँग पेश गरिने जमानत रकम आगामी ३ अप्रिल २०२७ सम्म मान्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले साना दरका सिक्काको पर्याप्त उपलब्धता कायम राख्दै दैनिक कारोबारमा आवश्यक पर्ने सिक्काको आपूर्ति व्यवस्थापन सहज बनाउन टकमरी प्रक्रिया अघि बढाएको हो । १ र २ रुपैयाँका सिक्काको ठूलो परिमाणमा उत्पादन तथा आपूर्तिका लागि प्रक्रिया अघि बढेसँगै आगामी दिनमा साना दरका सिक्काको मौज्दात व्यवस्थापनमा थप सहजता आउने अपेक्षा गरिएको छ ।

1

Scroll to Top