Banijya News

५० एमबीपीएसभन्दा कमका इन्टरनेट प्याकेज बन्द

1
1.1K Shares

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि ५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज बिक्री बन्द गरेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले सस्तो तथा कम स्पिडका प्याकेज हटाउने निर्णय गरेसँगै अब उपभोक्ताले न्यूनतम ५० एमबीपीएसको प्याकेज लिनुपर्ने भएको छ । यसले इन्टरनेट सेवाको मूल्यसमेत बढ्ने देखिएको छ ।

आइस्पानले आफ्ना सदस्य इन्टरनेट सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेटअनुसार मात्र सेवा बिक्री गर्न निर्देशन दिएको छ । साथै, स्वीकृत दररेटलाई आफ्ना वेबसाइटमा स्पष्ट रूपमा सार्वजनिक गर्नसमेत भनिएको छ । यसअघि विभिन्न सेवा प्रदायकले प्रतिस्पर्धाका कारण कम मूल्यमा ५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेजसमेत उपलब्ध गराउँदै आएका थिए ।

आइस्पानका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा सेवा सञ्चालनसँग सम्बन्धित वस्तु तथा सामग्रीको मूल्य बढ्दै गएपछि पुरानै दरमा इन्टरनेट सेवा सञ्चालन गर्न कठिन भएको हो । सेवा प्रदायकहरूको सञ्चालन खर्च बढेको र त्यसअनुसार आम्दानी कायम गर्न नसक्दा कम मूल्यका प्याकेजलाई निरन्तरता दिन समस्या भएको संघले जनाएको छ ।

आइस्पान अध्यक्ष सुधिर पराजुलीका अनुसार पछिल्ला वर्षहरूमा भएको मूल्यवृद्धि, मध्यपूर्वमा देखिएको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यमा भएको वृद्धि तथा उच्च मुद्रास्फीतिले इन्टरनेट सेवा प्रदायकको लागत बढाएको छ । त्यसमाथि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विस्तारसँगै चिपसेट तथा इलेक्ट्रोनिक्स सामग्रीको मूल्यसमेत बढेको उनको भनाइ छ ।

संघले यी विभिन्न कारणले इन्टरनेट सेवा प्रदायकको नियमित सञ्चालनमै दबाब परेको जनाएको छ । लागत बढे पनि प्रतिस्पर्धाका कारण सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने अवस्थाले व्यवसाय सञ्चालनमा थप चुनौती सिर्जना गरेको आइस्पानको दाबी छ ।

आइस्पानले पछिल्ला १२ वर्षमा नेपालमा इन्टरनेटको पहुँच र प्रयोग उल्लेख्य रूपमा विस्तार भएको जनाएको छ । फिक्स्ड ब्रोडब्यान्डको पहुँच र घनत्वका हिसाबले नेपाल दक्षिण एसियामै तुलनात्मक रूपमा सस्तो मुलुकमध्ये पर्ने संघको दाबी छ ।

तर, पछिल्लो समय बढेको सञ्चालन लागतका कारण सस्तो र कम गतिको प्याकेजलाई निरन्तरता दिन नसकिने अवस्था आएको संघले जनाएको छ । नयाँ व्यवस्थासँगै उपभोक्ताले ५० एमबीपीएस वा सोभन्दा माथिको प्याकेज रोज्नुपर्नेछ, जसका कारण न्यूनतम इन्टरनेट खर्चसमेत बढ्ने सम्भावना रहेको छ ।

1

Scroll to Top