नेपाल धितोपत्र बोर्डले लामो समयपछि साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिन थालेसँगै प्राथमिक बजारमा निष्कासनको तयारीमा रहेका कम्पनीहरूको संख्या र प्रस्तावित पुँजी फेरि चर्चामा आएको छ । बोर्डले असोज १६ गते हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएपछि स्वीकृतिको पर्खाइमा रहेका कम्पनीको संख्या अझै १११ रहेको छ ।
हिम पर्वत हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो । उक्त कम्पनीको आवेदन पाइपलाइनबाट हटेसँगै बाँकी १११ कम्पनीले कुल ४९ करोड ५ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गरी करिब ६५ अर्ब ३२ करोड ६३ लाख ८० हजार रुपैयाँ पुँजी संकलन गर्ने प्रस्ताव गरेका छन् ।
आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ठूलो भए पनि प्राथमिक बजारमा कम्पनीको गुणस्तर, वित्तीय अवस्था र लगानीकर्ताको हितलाई लिएर बहससमेत बढेको छ । सरकारले वास्तविक क्षेत्रका ठूला उद्योगलाई पुँजी बजारमा ल्याउने नीति अघि बढाइरहेको अवस्थामा उत्पादन, जलविद्युत्, पर्यटन, लगानी तथा सेवामूलक क्षेत्रका कम्पनीहरू आईपीओको तयारीमा छन् ।
तर, द्वितीय बजारमा कारोबार तथा माग अपेक्षाकृत सुस्त रहेको अवस्थामा ठूलो संख्यामा नयाँ कम्पनीका सेयर थपिँदा बजारको क्षमता र लगानीकर्ताको मागले धान्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्नसमेत उठेको छ ।
त्यसो त, कम्पनीको संख्या बढाउनुभन्दा गुणस्तरीय कम्पनीलाई प्राथमिकता दिनुपर्ने कतिपयको तर्क छ । कानुनी र वित्तीय मापदण्ड पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउन नहुने भए पनि वित्तीय रूपमा सबल र लगानीकर्ताको हित सुरक्षित गर्न सक्ने कम्पनीलाई प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ छ ।
कम्तीमा १०० रुपैयाँ नेटवर्थ भएका कम्पनीका लागि स्पष्ट मापदण्ड आवश्यक छ । विगतमा कमजोर वित्तीय अवस्था भएका कम्पनीले आईपीओ जारी गर्दा लगानीकर्ताले जोखिम बेहोर्नुपरेको भन्दै निष्कासनपछि पनि नियामकीय निगरानी बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताइन्छ । विशेषगरी तीन वर्षको लक–इन अवधि सकिएपछि प्रवद्र्धकले सेयर बिक्री गरेर बाहिरिन सक्ने अवस्थाले जोखिम बढाउन सक्ने लगानीकर्ताको चिन्ता छ ।
उत्पादन क्षेत्रबाट सबैभन्दा धेरै पुँजी
प्रस्तावित निष्कासन रकमका आधारमा उत्पादन तथा प्रशोधन क्षेत्र सबैभन्दा अगाडि छ । यस क्षेत्रका ३२ कम्पनीले ३५ अर्ब ७१ करोड ४ लाख १३ हजार रुपैयाँ बराबरको १७ करोड ४१ लाख ९१ हजार ३०३ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।
यस समूहमा जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट इन्डस्ट्रिज, मारुती सिमेन्ट्स, लक्ष्मी टेक्नोप्लास्ट, श्री डिस्टिलरी, भूगर्भ सिमेन्ट, ऋद्धिसिद्धि सिमेन्ट, आम्बे स्टिल्स, कान्तिपुर फार्मास्युटिकल्स ल्याब, महाशक्ति सिमेन्टलगायत कम्पनी छन् । केही कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेका छन् । जगदम्बा स्टिल्सले प्रतिकित्ता ३३० रुपैयाँ प्रिमियमसहित सेयर निष्कासनका लागि अनुमति मागेको छ ।
कम्पनी संख्याका आधारमा भने जलविद्युत् क्षेत्र अगाडि छ । ३४ जलविद्युत् कम्पनीले १७ अर्ब १९ करोड २३ लाख ५५ हजार रुपैयाँ बराबरको १६ करोड ८३ लाख ७६ हजार २३६ कित्ता सेयर निष्कासनका लागि प्रक्रिया अघि बढाएका छन् । हिम पर्वत हाइड्रोपावरले अनुमति पाएपछि यो समूहमा कम्पनीको संख्या ३५ बाट ३४ मा झरेको हो ।
पर्यटन क्षेत्रको सहभागिता बढ्दै
पर्यटन तथा आतिथ्य क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता सेयर निष्कासनको प्रस्ताव गरेका छन् । यस समूहमा एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अकामा होटल, ठमेल प्लाजा होटल एन्ड सुइट्स, माउन्टेन ग्लोरी, मौलाकाली केवलकार, नगरकोट रिसोर्ट, श्री एयरलाइन्स र होटल इच्छा लगायत छन् ।
त्यस्तै, लगानी क्षेत्रका ९ कम्पनीले ४ अर्ब ४५ करोड १३ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड २० लाख ५३ हजार ६६२ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । यस समूहमा शिवम् होल्डिङ्स, बरुण इन्भेस्टमेन्ट, सिड इनर्जी, टिम भेन्चर्स र नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सलगायत छन् ।
यसका अतिरिक्त अस्पताल, मिडिया, हेलिकप्टर, सौर्य ऊर्जा तथा अन्य सेवामूलक कम्पनी पनि आईपीओको तयारीमा छन् । लघुबीमा क्षेत्रका तीन कम्पनीले मात्रै ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका छन् ।
यसरी लामो समयदेखि रोकिएको आईपीओ स्वीकृति प्रक्रिया अघि बढेसँगै प्राथमिक बजारमा ठूलो रकमको नयाँ सेयर भित्रिने देखिएको छ । तर, बजारमा नयाँ कम्पनीको संख्या बढाउनेसँगै तिनको वित्तीय क्षमता, व्यवसायिक सम्भावना र लगानीकर्ताको हित संरक्षणलाई समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।


