सरकारले आफ्नो कार्यकालको पहिलो ६ महिनामा आर्थिक तथा प्रशासनिक सुधारसँगै उपभोक्ता हित र बजार व्यवस्थापनका क्षेत्रमा विभिन्न काम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उपलब्धि विवरणमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनदेखि पूँजी बजार सुधार र आर्थिक सुधारका कार्यक्रमसम्मका काम समेटिएका छन्।
सरकारका अनुसार चाडपर्वको समयमा सर्वसाधारणलाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। चाडपर्वका बेला बजारमा हुने मूल्यवृद्धिको दबाब कम गर्ने र उपभोक्तालाई राहत दिने उद्देश्यले यस्ता पसल सञ्चालन गरिएको सरकारले जनाएको छ।
आर्थिक तथा लगानीसम्बन्धी सेवातर्फ लगानी बोर्डमा एकद्वार स्वीकृति प्रणाली सञ्चालनमा ल्याइएको उपलब्धि विवरणमा उल्लेख छ। विभिन्न आयोजना तथा लगानीसँग सम्बन्धित स्वीकृति प्रक्रियालाई सहज बनाउने उद्देश्यले यस्तो प्रणाली अघि बढाइएको सरकारको भनाइ छ।
खनिज क्षेत्रको सम्भावनालाई उपयोग गर्ने क्रममा खानी उत्खनन तथा खोजतलासका लागि १०६ नयाँ अनुमतिपत्र जारी गरिएको पनि सरकारले जनाएको छ। यसबाट खानी तथा खनिजजन्य स्रोतको खोजी र उत्खननसम्बन्धी गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
कर प्रशासनलाई सहज बनाउने प्रयासअन्तर्गत १२० स्थानीय तह तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) सहितको करदाता सेवा सुरु गरिएको उपलब्धि विवरणमा उल्लेख छ। स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीलाई सम्बन्धित निकायसम्म धाउनुपर्ने बाध्यता घटाउने सरकारको उद्देश्य छ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आयातमा पर्ने दबाबलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिइएको सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा कम गर्न यस्तो निर्णय गरिएको विवरणमा उल्लेख छ।
सरकारले आर्थिक सुधारलाई समेत आफ्नो प्राथमिकतामा राखेको जनाएको छ। यस क्रममा नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरिएको छ। साथै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसका आधारमा १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ।
लामो समयदेखि समस्याग्रस्त सार्वजनिक संस्थान सुधारको विषयमा पनि सरकारले काम अघि बढाएको जनाएको छ। उदयपुर सिमेन्ट, गोरखकाली रबर र हेटौंडा सिमेन्टको ड्यु डिलिजेन्स अडिट सम्पन्न भएको उपलब्धि विवरणमा उल्लेख छ। यी संस्थानको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको मूल्यांकनका लागि ड्यु डिलिजेन्स अडिटलाई महत्वपूर्ण प्रक्रियाका रूपमा लिइन्छ।
यता, पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना २०८३ कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ। पूँजी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित उक्त कार्ययोजना कार्यान्वयनमा ल्याइएको विवरणमा उल्लेख छ।
त्यसैगरी, एटिएफ ग्रे–लिष्ट सुधारका क्रममा तीनवटा कार्य पूर्ण र चारवटामा आंशिक प्रगति भएको सरकारको दाबी छ। ग्रे–लिष्टबाट शीघ्र बाहिरिने रणनीतिअनुसार आवश्यक काम अघि बढिरहेको उपलब्धि विवरणमा उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक गरेको यी विवरणलाई पहिलो ६ महिनामा अघि बढाइएका आर्थिक, प्रशासनिक र बजारसम्बन्धी कामका रूपमा प्रस्तुत गरेको छ। आगामी अवधिमा यी कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने चुनौती सरकारसामु रहनेछ।


