Banijya News

‘समाचारको गति होइन, सत्यता र विश्वसनीयता महत्वपूर्ण’ : चेम्बर अध्यक्ष अग्रवाल

1
1.0K Shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल सञ्चारको विस्तारसँगै समाचार सम्प्रेषणमा तीव्रताभन्दा सत्यता, तथ्यपरकता र विश्वसनीयतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले प्रविधिको तीव्र विकासले पत्रकारिताको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा व्यावसायिक मूल्य, नैतिकता र जनउत्तरदायित्वलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

राष्ट्रिय अनलाइन पत्रकार संघले आइतबार आयोजना गरेको अवार्ड समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले अनलाइन पत्रकारिता नागरिकलाई सूचना उपलब्ध गराउने मात्र नभई लोकतन्त्रलाई सुदृढ बनाउने र सरकार तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउन सहयोग गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको बताए।

उनका अनुसार पत्रकारिताको वास्तविक शक्ति सत्य, निष्पक्षता, विश्वसनीयता र जनउत्तरदायित्वमा आधारित हुन्छ। तर सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, क्लिक र भ्युज बढाउने उद्देश्यले हुने अस्वस्थ प्रतिस्पर्धा तथा पत्रकारको आर्थिक र व्यावसायिक असुरक्षाले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि चुनौती थपिरहेको उनले उल्लेख गरे।

अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले समाचार सङ्कलन, तथ्य विश्लेषण तथा सामग्री सम्प्रेषणलाई थप सहज र प्रभावकारी बनाउन सक्ने भए पनि पत्रकारको विवेक, नैतिक निर्णय क्षमता र मानवीय संवेदनशीलताको विकल्प बन्न नसक्ने बताए। प्रविधिको प्रयोगसँगै तथ्य जाँच, डिजिटल साक्षरता र पत्रकारिताको व्यावसायिक आचारसंहितालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको अग्रवालले बताए। लगानी आकर्षित गर्न, उद्यमशीलता प्रवद्र्धन गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा निजी क्षेत्रको मनोबल बढाउन सञ्चारमाध्यम र निजी क्षेत्रबीच रचनात्मक सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

“जिम्मेवार पत्रकारिता र उत्तरदायी निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी होइनन्, सुशासन र समृद्धिका सहयात्री हुन्,” उनले भने।

अध्यक्ष अग्रवालले उद्योग, व्यापार, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि तथा साना तथा मझौला उद्यमका समस्या र सम्भावनालाई सञ्चारमाध्यमले तथ्यपरक ढंगले सार्वजनिक गर्नुपर्ने बताए। नवप्रवर्तन, सफल व्यवसाय र उद्यमशीलताका सकारात्मक उदाहरणलाई उजागर गर्नुका साथै निजी क्षेत्रका कमजोरी, अनियमितता तथा उपभोक्तासँग सम्बन्धित विषयमा निष्पक्ष निगरानी गर्नुपर्नेमा पनि उनले जोड दिए।

पत्रकारिताको गुणस्तर कायम गर्न पत्रकारको व्यावसायिक सुरक्षा र सम्मानजनक कार्य वातावरण आवश्यक रहेको उनको भनाइ थियो। पत्रकारले डर, दबाब वा प्रलोभनबाट मुक्त भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउनुपर्ने भन्दै उनले सञ्चार संस्थाहरूले उचित पारिश्रमिक, सामाजिक सुरक्षा र क्षमता विकासका अवसर उपलब्ध गराउनुपर्ने बताए।

उनले व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, एआई तथा डेटा पत्रकारितासहित डिजिटल सीप विकास, अनलाइन सञ्चारमाध्यमको आर्थिक दिगोपन, पत्रकारको हकहित संरक्षण, समाधानमुखी पत्रकारिता र निजी क्षेत्रसँग सहकार्य विस्तारलाई वर्तमान समयको आवश्यकता बताए।

अग्रवालले समाचारको प्राथमिकता केवल छिटो प्रकाशनमा सीमित हुन नहुने धारणा राख्दै भने, “समाचार छिटो मात्र होइन, सत्य हुनुपर्छ; विचार स्वतन्त्र मात्र होइन, जिम्मेवार पनि हुनुपर्छ र प्रविधि आधुनिक मात्र होइन, मानवता र नैतिकताप्रति संवेदनशील पनि हुनुपर्छ।”

1

Scroll to Top