Banijya News

निर्माणमा रहेका २७ जलविद्युत आयोजनालाई राहत, ५४० मेगावाटको आरसीओडी थप

1
1.1K Shares

निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न नसकेर अन्योलमा परेका २७ जलविद्युत आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गर्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका आयोजनाको आरसीओडी थप गरेको हो।

विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेका तर तोकिएको समयभित्र निर्माण पूरा हुन नसकेका आयोजनाको वास्तविक अवस्था अध्ययन गरेर प्राधिकरणले यस्तो निर्णय गरेको हो। आरसीओडी थप भएपछि निर्माणको क्रममा रहेका आयोजनाले थप समय पाउने भएका छन् भने उत्पादनमा आउन सक्ने करिब ५४० मेगावाट विद्युत्को बाटो खुलेको छ।

मन्त्री श्रेष्ठले जलविद्युत् प्रवर्द्धकहरूसँग यसअघि गरेको छलफलमा वास्तविक रूपमा लगानी गरेर आयोजना निर्माण अघि बढाइरहेका निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्ने नीति लिएको बताएका थिए। उनका अनुसार आरसीओडी थप गर्ने निर्णय कुनै व्यक्ति वा आयोजनाको प्रभावका आधारमा नभई निश्चित मापदण्ड र संस्थागत प्रक्रियाबाट हुनुपर्नेमा सरकार स्पष्ट छ।

प्राधिकरणले पीपीए, आयोजना निर्माणको भौतिक प्रगति र आरसीओडीको अवस्थाका आधारमा निर्माणाधीन आयोजनालाई चार समूहमा वर्गीकरण गरेको छ। कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा विभाजन गरिएको हो। आवश्यक कागजात तथा प्रमाण पेस गरेका ‘क’ र ‘ख’ समूहमा रहेका आयोजनाको आरसीओडी थप गर्ने प्रक्रिया अघि बढाइएको हो।

गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पहिलोपटक स्पष्ट मापदण्ड बनाएर आयोजनाको वर्गीकरण गर्ने निर्णय गरेको थियो। त्यसअनुसार ‘क’ समूहमा आधारभूत दायित्व पूरा गरिसकेका आयोजनालाई राखिएको छ। ‘ख’ समूहमा भने प्राधिकरणका कारण प्रसारण संरचना निर्माणमा भएको ढिलाइ, काबुबाहिरको परिस्थिति वा कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना समेटिएका छन्।

प्राधिकरणका अनुसार अहिले देशभर ८ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन्। तीमध्ये ४ हजार ४९१ मेगावाट क्षमताका १५० आयोजना ‘क’ समूहमा छन्। त्यस्तै, १ हजार ४२० मेगावाट क्षमताका ६८ आयोजना ‘ख’ समूहमा वर्गीकृत छन्। बाँकी आयोजनालाई ‘ग’ र ‘घ’ समूहमा राखिएको छ।

‘ग’ समूहमा आवश्यक उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापन पूरा नगरेका तथा आरसीओडी सकिँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति गरेका आयोजना छन्। त्यस्तै, अनिवार्य दायित्व पूरा नगरेका वा सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र नै खारेज भएका आयोजनालाई ‘घ’ समूहमा राखिएको छ।

आरसीओडी थपसँगै ‘ख’ समूहमा रहेका आयोजनाको नियमित अनुगमन पनि गरिनेछ। प्राधिकरणको विद्युत् व्यापार विभागले आयोजना निर्माणलाई गति दिन आवश्यक निर्देशन दिने र त्यसको कार्यान्वयनको अनुगमन गर्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएमा वा अवस्था परिवर्तन भएमा बढीमा छ महिनाभित्र पुनः वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

ऊर्जा क्षेत्रमा निजी लगानी बढ्दै गए पनि आयोजना निर्माणमा हुने ढिलाइ, प्रसारण पूर्वाधारको अभाव, वित्तीय व्यवस्थापन तथा अन्य प्रक्रियागत समस्याले कतिपय आयोजना समयमै सम्पन्न हुन सकेका छैनन्। यस्तो अवस्थामा सबै आयोजनालाई एउटै दृष्टिले हेर्नुभन्दा वास्तविक समस्या र प्रगतिको आधारमा छुट्याउने प्रणालीले निर्माणमा रहेका आयोजनालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री श्रेष्ठले निजी क्षेत्रको लगानी सुरक्षा र आत्मसम्मानप्रति सरकार संवेदनशील रहेको बताउँदै प्रवर्द्धकले पनि आफ्नो दायित्व समयमै पूरा गर्नुपर्नेमा जोड दिएका छन्। सरकार र निजी क्षेत्र दुवैले आफ्नो जिम्मेवारी पूरा गरे मात्रै जलविद्युत् आयोजनाको निर्माणले अपेक्षित गति लिने उनको भनाइ छ।

२७ आयोजनाको आरसीओडी थप गर्ने निर्णयले तत्कालै नयाँ विद्युत् उत्पादन भने सुरु गराउने होइन। तर निर्माणमा रहेका आयोजनालाई निर्धारित प्रक्रिया पूरा गर्दै उत्पादनतर्फ अघि बढ्ने थप अवसर दिएको छ। यससँगै वास्तविक प्रगति भएका आयोजना अघि बढाउने र लामो समयदेखि काम गर्न नसकेका आयोजनालाई छुट्टै पहिचान गर्ने आधारसमेत तयार भएको छ।

1

Scroll to Top