Banijya News

मर्जरपछि थप प्रतिस्पर्धी बन्दै युनाइटेड अजोड, ४ अर्ब माथिको नेटवर्थ

1
1.1K Shares

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर २०८० जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड  ले मर्जरपछिको तीन वर्षमा आफ्नो वित्तीय, संस्थागत र व्यावसायिक आधारलाई थप मजबुत बनाएको छ। मर्जरपश्चात् १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले बोनस शेयर र २३ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्दै आफ्नो पुँजी बढाएर २ अर्ब ६४ करोड रुपैयाँ पुर्‍याएको छ।

यस अवधिमा शेयरधनीहरूलाई ५० करोड ४४ लाख रुपैयाँ बोनस शेयर (पहिलो वर्ष १०.२६१२%, आव २०८०/८१ मा १०% र आव २०८१/८२ मा ४.२८५७%) वितरण गरिसकेको छ। सुरुवाती एकीकरण चरणमा नाफा १८ करोड ५१ लाखमा खुम्चिए पनि आव २०८०/८१ मा बढेर २४ करोड ८४ लाख रुपैयाँ पुगेको थियो भने घट्दो ब्याजदरका बाबजुद आव २०८१/८२ मा १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

वित्तीय सबलीकरणका मुख्य सूचक मानिने नेटवर्थ, जगेडा कोष र जोखिम वहन क्षमतामा कम्पनीले लोभलाग्दो सुधार दर्ता गरेको छ। मर्जरअघि साविकका दुवै कम्पनीको जोड्दा २ अर्ब ८६ करोड रुपैयाँ रहेको नेटवर्थ एकीकृत कारोबारपछि ३ अर्ब ५७ करोड पुगेकोमा आव २०८१/८२ सम्म आइपुग्दा ४ अर्ब ७ करोड रुपैयाँ पुगिसकेको छ।

त्यसैगरी, मर्जर लगत्तै १ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ रहेको जगेडा कोष बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। बीमा कम्पनीको भविष्यको जोखिम बहन गर्ने सामर्थ्य दर्साउने सोल्भेन्सी मार्जिन आव २०८०/८१ को २७३ प्रतिशतबाट ह्वात्तै बढेर आव २०८१/८२ मा ४२९.३० प्रतिशत पुगेको छ, जसले कम्पनीलाई ठूला दाबी र दायित्व सजिलै बहन गर्न सक्ने उच्च वित्तीय सुरक्षित स्थितिमा पुर्‍याएको छ।

व्यवसाय विस्तार र बीमितको विश्वसनीयता बढाउने मुख्य आधार दाबी भुक्तानीमा कम्पनीले विशेष प्राथमिकता दिँदै आएको छ। मर्जरपछिको पहिलो वर्ष कुल बीमा शुल्क १ अर्ब ६५ करोड रुपैयाँमा सीमित भए पनि रणनीतिक योजनामार्फत आव २०८०/८१ मा २ अर्ब ७५ करोड र आव २०८१/८२ मा २ अर्ब ८९ करोड रुपैयाँ प्रिमियम सङ्कलन गर्न सफल भएको छ।

सेवाप्रवाहलाई चुस्त बनाउँदै कम्पनीले मर्जरयता ६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ, जसअन्तर्गत आव २०८०/८१ मा १ अर्ब ५४ करोड, आव २०८१/८२ मा १ अर्ब ९५ करोड र आव २०८२/८३ को अपरिष्कृत विवरण अनुसार १ अर्ब ८२ करोड रुपैयाँ दाबी चुक्ता गरिएको छ। छुट्टै आन्तरिक संयन्त्र, सर्वेयरसँग नियमित समन्वय र प्रविधिको प्रयोगले गर्दा दाबी प्रक्रिया अझ छिटो र प्रभावकारी बनेको छ।

सञ्चालन खर्च व्यवस्थापनमा समेत सुधार गर्दै कम्पनीले आफ्नो खर्च अनुपात पहिलो वर्षको ९.८४ प्रतिशतबाट घटाएर आव २०८१/८२ सम्म ७.२० प्रतिशतमा झारेको छ। बदलिँदो प्रविधिसँगै युनाइटेड अजोडले डिजिटल पोलिसी, अनलाइन भुक्तानी र दाबीको अनलाइन ट्र्याकिङ जस्ता आधुनिक प्रविधि अपनाउनुका साथै कृषि बीमा र विपद् जोखिम व्यवस्थापनका लागि ‘प्यारामेट्रिक इन्स्योरेन्स’ जस्ता नवीन अवधारणालाई अघि सारेको छ।

सञ्चालक समिति र व्यवस्थापनको निरन्तर मिहिनेतका कारण ‘छैटौँ इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२५’ बाट समेत सम्मानित भइसकेको यो कम्पनी मर्जरको तीन वर्षमा सबल वित्तीय आधार, उच्च सोल्भेन्सी र बढ्दो जनविश्वासका साथ नेपाली निर्जीवन बीमा बजारमा अग्रणी एवम् प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित भएको छ।

1

Scroll to Top