Banijya News

कांग्रेस महाधिवेशनमा उद्योगी-व्यवसायीको लहर, नेतृत्वका विभिन्न पदमा दाबी

1
1.1K Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी, व्यवसायी तथा विभिन्न पेसा-व्यवसायमा सक्रिय व्यक्तिहरूले पार्टी नेतृत्वका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनमा आर्थिक विकास, उद्यमशीलता, रोजगारी, पर्यटन, कृषि र पूर्वाधारलाई मुख्य एजेन्डा बनाउँदै व्यवसायी पृष्ठभूमिका नेताहरू चुनावी मैदानमा उत्रिन लागेका हुन्।

उद्योगी एवं पूर्वसांसद विनोद चौधरीले केन्द्रीय उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले आर्थिक विकासलाई राजनीतिको मूल एजेन्डा बनाउनुपर्ने बताएका छन्। युवाका आकांक्षा सम्बोधन गर्दै आर्थिक रूपान्तरणमार्फत देश विकासको नेतृत्व कांग्रेसले गर्न सक्ने उनको दाबी छ।

चौधरीले अब केवल ‘राजनीतिका लागि राजनीति’ गर्ने शैलीबाट मुलुकमा रूपान्तरण सम्भव नहुने बताएका छन्। आर्थिक समुन्नतिका स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने र त्यसको जिम्मेवारी लिन आफू तयार रहेको उनको भनाइ छ।

मेडिकल व्यवसायी सुनील शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले कांग्रेसलाई पार्टी कार्यालय र काठमाडौंका बैठकमा सीमित नराखी गाउँका नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी तथा युवासँग प्रत्यक्ष जोड्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। जनताका समस्या सुन्ने र तिनलाई पार्टीको राजनीतिक एजेन्डा बनाउने संगठन निर्माण गर्ने उनको दाबी छ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले सहमहामन्त्रीमा पुनः उम्मेदवारी दिने भएका छन्। नुवाकोटका लामाले जनजाति क्लस्टरबाट प्रतिस्पर्धा गर्ने बताएका छन्। विशेष महाधिवेशनपछि छोटो समयका लागि सहमहामन्त्री बनेकाले अपेक्षित काम गर्न नसकेको भन्दै उनले निरन्तरताका लागि उम्मेदवारी दिन लागेको बताएका छन्। देशको आयस्रोत बढाउने गुरुयोजना आवश्यक रहेको उनको भनाइ छ। उनी निर्माण व्यवसायमा समेत संलग्न छन्।

पर्यटन तथा जैविक विविधताको क्षेत्रमा सक्रिय चितवनका व्यवसायी वासु ढुंगानाले खसआर्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले २०४८ सालदेखि पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको बताएका छन्।

झापाका चिया व्यवसायी छत्रबहादुर गिरीले पनि खुलातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन्। निर्यातमुखी अर्थतन्त्र, रोजगारी सिर्जना र कृषिको आधुनिकीकरणलाई उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्। मुलुकको आर्थिक आधार बलियो बनाउन निर्यातमुखी औद्योगिकीकरण आवश्यक रहेको उनको भनाइ छ।

स्याङ्जाका मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालले पहिलोपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको जिम्मेवार भूमिकामा पुगेर आर्थिक क्षेत्रलाई बदलिँदो परिस्थितिअनुसार अघि बढाउने आफ्नो उद्देश्य रहेको उनले बताएका छन्।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहले जनजातितर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। गुणस्तरीय पूर्वाधार, सक्षम जनशक्ति, उत्पादनमुखी अर्थतन्त्र र सुशासनलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका कास्कीका व्यवसायी तिलक रानाभाटले पनि पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। महाधिवेशनमा भोजन व्यवस्थापन समितिको संयोजकसमेत रहेका उनले मुलुकको आर्थिक उन्नतिका लागि प्राकृतिक स्रोत-साधनको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन्।

चितवनका पर्यटन व्यवसायी तथा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुकेले जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। यसअघि बागमती प्रदेश प्रतिनिधिका रूपमा काम गरेका चुके यसपटक महाधिवेशन प्रतिनिधि बनेका छन्।

युवा नेता तथा उद्यमी किरण केसीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। कास्की–२ बाट महाधिवेशन प्रतिनिधि बनेका केसीले युवालाई राजनीति, रोजगारी र उद्यमसँग जोड्ने एजेन्डा अघि सारेका छन्। बैंकिङ, बीमा, जलविद्युत् तथा निर्माण क्षेत्रमा सक्रिय उनी केसी ग्रुप अफ कम्पनीजका निर्देशक हुन्।

कांग्रेसले मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका तय गरेसँगै व्यवसायी पृष्ठभूमिका नेताहरूको उम्मेदवारी घोषणा तीव्र बनेको हो। उनीहरूले आ-आफ्नो क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र आर्थिक एजेन्डासँग जोड्ने दाबी गरेका छन्।

कसले कुन पदमा उम्मेदवारी घोषणा गरे ?

विनोद चौधरी – उपसभापति
सुनील शर्मा – महामन्त्री
बहादुरसिंह लामा – सहमहामन्त्री
छत्रबहादुर गिरी – केन्द्रीय सदस्य
वासु ढुंगाना – केन्द्रीय सदस्य
खुमाप्रसाद अर्याल – केन्द्रीय सदस्य
रवि सिंह – केन्द्रीय सदस्य
तिलक रानाभाट – केन्द्रीय सदस्य
उत्तमलाल चुके – केन्द्रीय सदस्य
किरण केसी – केन्द्रीय सदस्य

1

Scroll to Top