दशैंमा घर फर्किने यात्रुको चापलाई व्यवस्थापन गर्न सरकारले २३ असोजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बिक्री खुला गर्ने भएको छ । चाडपर्वका बेला हुने अत्यधिक यात्रुचापका कारण अन्तिम समयमा टिकट अभाव, काउन्टरमा भीड तथा बढी भाडा असुलीजस्ता समस्या हुन नदिन अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको हो ।
यस वर्ष दशैंमा काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी मानिस बाहिरिने अनुमान गरिएको छ । ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापन पक्षसँग छलफल गरी अग्रिम टिकट बिक्रीको मिति तय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौंला (पुण्य) का अनुसार मंगलबार यातायात व्यवस्था विभागमा भएको छलफलबाट अग्रिम टिकट बिक्रीको विषय टुंगो लागेको हो । यससँगै दशैंमा घर जाने तयारीमा रहेका यात्रुको टिकटसम्बन्धी अन्योल हट्ने अपेक्षा गरिएको छ ।
सरकारले यात्रुलाई आधिकारिक काउन्टर तथा मान्य माध्यमबाट मात्रै टिकट खरिद गर्न आग्रह गरेको छ । चाडपर्वको मागलाई देखाएर तोकिएकोभन्दा बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्यमाथि निगरानी बढाइने भएको छ । त्यस्तो अनियमितता गर्ने व्यक्ति तथा व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
यसपटक लामो दूरीको यात्रालाई सुरक्षित बनाउन सवारी सञ्चालनमा समेत कडाइ गरिने भएको छ । लामो दूरीका बसमा एउटै चालकले लगातार लामो समयसम्म सवारी चलाउने अवस्था अन्त्य गर्न दुई जना चालक अनिवार्य राख्ने व्यवस्था लागू गरिनेछ । चालकको थकानका कारण हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको हो ।
यात्रु सुरक्षालाई ध्यान दिँदै प्रत्येक यात्रुवाहक सवारीमा प्राथमिक उपचारका सामग्री, आगो नियन्त्रण गर्ने उपकरण र पिउने पानी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । साथै, टिकट खरिद गर्ने यात्रुको नाम र सम्पर्क नम्बर अभिलेखमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यसले आपत्कालीन अवस्थामा यात्रुको पहिचान तथा सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ ।
टिकट बिक्री काउन्टरमा कार्यरत कर्मचारीलाई समेत सहजै पहिचान गर्न सकिने व्यवस्था गर्नुपर्नेछ । काउन्टरका कर्मचारीले परिचयपत्र र तोकिएको पोसाक अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । यसबाट टिकट बिक्रीका क्रममा हुने अनधिकृत गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने सरकारी अपेक्षा छ ।
यात्राका क्रममा सडक अवरुद्ध, दुर्घटना वा अन्य समस्या उत्पन्न भए तत्काल सूचना सम्बन्धित निकायसम्म पुर्याउन केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ । यस केन्द्रले यातायात क्षेत्रसँग सम्बन्धित सूचना संकलन तथा समन्वय गर्नेछ ।
दशैं–तिहारका बेला नयाँ बसपार्कलगायत विभिन्न टिकट काउन्टरमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षाकर्मीको परिचालनसमेत बढाइने भएको छ । यात्रुलाई व्यवस्थित सेवा उपलब्ध गराउने तथा भीडबाट उत्पन्न हुन सक्ने समस्या नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय बनाइनेछ ।
यातायात व्यवसायी र श्रमिक पक्षले पनि चाडपर्वको आवागमनलाई सहज बनाउन सरकारी निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। अग्रिम टिकट बिक्री, चालक व्यवस्थापन, यात्रुको विवरण अभिलेखीकरण र सुरक्षा व्यवस्थालाई एकसाथ अघि बढाएर यस वर्षको दशैं यात्रा सुरक्षित र व्यवस्थित बनाउने तयारी गरिएको छ ।


