माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।
कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल रूपमा लगानी गर्ने भएको हो । बैंकका अनुसार परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म रकम माछापुच्छ्रे बैंकले वित्तीय लगानी गर्नेछ । परियोजनाको निर्माण अवधि डेढ वर्ष रहने जनाइएको छ ।
२० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्नुका साथै ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
माछापुच्छ्रे बैंकले पछिल्लो समय वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ । सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनुलाई बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरताका रूपमा लिएको छ ।
बैंकले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवद्र्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने जनाएको छ ।


