Banijya News

महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन कुमारी बैंक र महासंघबीच सहकार्य

1
1.1K Shares

कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको आर्थिक सशक्तीकरण, उद्यम विकास तथा दिगो वित्त प्रवद्र्धनका लागि साझेदारी भएको छ । साझेदारीसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महिला नेतृत्वमा सञ्चालित व्यवसाय तथा उद्यमलाई जिम्मेवार वित्तमा पहुँच विस्तार गर्न दुवै संस्थाले सहकार्य गर्नेछन् । यस्तै, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजार अवसर तथा मूल्य शृंखलासँगको आबद्धता बढाउने विषयलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।

महिला उद्यमीले भोग्दै आएका वित्तीय चुनौती समाधान गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्यांकन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा जोखिम साझेदारीका नवीन संयन्त्रको सम्भावनासमेत खोजिनेछ ।

कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले साझेदारीले समावेशी तथा दिगो वित्त प्रवद्र्धन गर्दै महिला उद्यमीको वित्त, बजार र ज्ञानमा पहुँच विस्तार गर्ने बताए । महिला उद्यमी महासंघ नेपालको सञ्जाल र बैंकको दिगो बैंकिङ क्षमतालाई एकीकृत गरी महिला नेतृत्वका व्यवसायलाई वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि उन्मुख बनाउने लक्ष्य रहेको उनले बताए ।

सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्र विकास गरिनेछ । उद्यम वृद्धि, वित्तीय पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना र दिगो व्यावसायिक अभ्यासलाई प्राथमिकता दिइनेछ ।

कुमारी बैंकका अनुसार सहकार्यबाट वित्तीय रूपमा सक्षम हरित उद्यम विकास, मूल्य शृङ्खला सुदृढीकरण, रोजगारी विस्तार तथा जलवायुमैत्री र दिगो आर्थिक भविष्य निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

हाल बैंकले देशभर २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २०० भन्दा बढी पीओएस टर्मिनलमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

1

Scroll to Top