Banijya News

कांग्रेस महाधिवेशन : तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो

1
1.0K Shares

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी नपुगेको भन्दै दिउसो १ बजेसम्मको लागि सारिएको छ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। महाधिवेशनको पाँचौँ दिन कांग्रेसका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्न मतदानमा भाग लिने भएका छन्।

मतदानका लागि काठमाडौंका विभिन्न स्थानमा प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ। त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा भवनमा मतदानको व्यवस्था गरिएको छ।

कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने व्यवस्था गरिएको छ। त्यसपछि मात्रै प्रतिनिधिले मतदान गर्न पाउनेछन्। निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन ठूलो संख्यामा मतदान अधिकृत खटाइएको छ। निर्वाचन समितिका अनुसार विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रको व्यवस्था गरिएको छ भने एक जना प्रतिनिधिलाई मतदान पूरा गर्न करिब आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्न सक्ने अनुमान गरिएको छ।

महाधिवेशनमा सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न क्लस्टर र क्षेत्रबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि उम्मेदवारी परेको छ। निर्वाचन समितिले बुधबार साँझ उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने व्यवस्था गरिएको छ।

केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ। अब महाधिवेशन प्रतिनिधिको मतदानबाट कांग्रेसको आगामी केन्द्रीय नेतृत्व तय हुनेछ।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। मतदान र मतगणना प्रक्रियालाई निष्पक्ष तथा व्यवस्थित बनाउन निर्वाचन समितिले प्रतिनिधिहरूलाई तोकिएको मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी नियम पालना गर्न आग्रह गरेको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ। हजारौँ प्रतिनिधिको सहभागितामा हुने मतदानबाट सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य चयन हुने भएकाले आजको निर्वाचनलाई महाधिवेशनको मुख्य चरणका रूपमा हेरिएको छ।

1

Scroll to Top