Banijya News

७८८ आरोहीले लिए ३१ हिमाल चढ्ने अनुमति, सबैभन्दा बढी चिनियाँ हुँदा अन्य देशका कति ?

1
1.0K Shares

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७० देशका ७८८ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार, सन् २०२६ को शरद् ऋतुमा ९१ वटा टोलीका आरोहीले ३१ हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला रहेका छन् । उनीहरूबाट विभागले आरोहण रोयल्टीबापत १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ संकलन गरेको छ ।

यस सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका छन् । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । उनीहरूबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

यस्तै, धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ८२ लाख ४२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ । हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ जनाले अनुमति लिएका छन् भने त्यसबाट २० लाख ८७ हजार ८०० रुपैयाँ संकलन भएको छ ।

आमादब्लम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएका छन्। उनीहरूबाट २९ लाख १२ हजार रुपैयाँ रोयल्टी उठेको छ ।

विभागले पुथा हिउँचुली, डांगा हिउँचुली, बरुणत्से, मकालु, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि पनि अनुमति दिएको छ ।

राष्ट्रियता आधारमा सबैभन्दा धेरै चीनका ११८ आरोही छन् । त्यसपछि रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२ र बेलायतका ४५ जना रहेका छन्। नेपालका २३ जनाले पनि आरोहण अनुमति लिएका छन् ।

1

Scroll to Top