नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक–निजी साझेदारीमा सञ्चालित बोर्डले पर्यटन प्रवर्द्धन तथा बजारीकरणलाई मुख्य प्राथमिकतामा राख्दै उक्त बजेट ल्याएको हो ।
बोर्डको चालु आर्थिक वर्षको बजेट गत आर्थिक वर्षको तुलनामा २० करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०८२/८३ मा बोर्डले १ अर्ब ६० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, विनियोजित बजेटमध्ये करिब ५६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ । गत वर्षको बजेटबाट ८९ करोड ४७ लाख रुपैयाँ मात्रै खर्च भएको अनुमानसहित बोर्डले चालु आवको बजेट तयार गरेको हो ।
चालु आवको बजेटमा पर्यटन प्रवर्द्धन तथा कार्यक्रम सञ्चालनका लागि कुल बजेटको ६६ प्रतिशत रकम छुट्याइएको छ । बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै आएको छ । सोहीअनुसार विदेशी पर्यटक आकर्षित गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम, अन्तर्राष्ट्रिय अभियान तथा ‘सेल्स मिसन’ सञ्चालनमा बजेट केन्द्रित गरिनेछ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा सूचना अधिकारी सन्तोष पन्तका अनुसार गत वर्ष अन्तर्राष्ट्रिय प्रवर्द्धनतर्फ अपेक्षाअनुसार खर्च हुन सकेको थिएन । सार्वजनिक खरिद ऐनअनुसार बोर्डले तयार पारेको विदेशमा गरिने खरिदसम्बन्धी कार्यविधि स्वीकृत हुन ढिलाइ भएकाले प्रवर्द्धनात्मक कार्यक्रम प्रभावित भएको उनले बताए ।
उनका अनुसार उक्त कार्यविधि चैतमा मात्रै स्वीकृत भएको थियो । कार्यविधि स्वीकृत हुन ढिलाइ हुँदा विदेशमा सञ्चालन गरिने ‘सेल्स मिसन’ लगायतका कार्यक्रम प्रभावित भएका थिए । त्यसैगरी, वैशाखको तेस्रो सातादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त हुँदा पनि बोर्डको खर्च अपेक्षाअनुसार हुन नसकेको पन्तले बताए ।
बोर्डमा सञ्चालक समिति सदस्य नियुक्त भएपछि मात्रै चालु आवका लागि बजेट निर्माण गर्नुपरेकाले बजेट सार्वजनिक गर्न यसपटक पनि केही ढिलाइ भएको पन्तको भनाइ छ । यद्यपि, विदेशमा गरिने खरिदसम्बन्धी कार्यविधि गत वर्ष नै स्वीकृत भइसकेकाले चालु आवमा पर्यटन प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने बोर्डको अपेक्षा छ ।
बोर्डको आम्दानीको सबैभन्दा ठूलो स्रोत भने पर्यटन सेवा शुल्क हो । चालु आवमा यस शीर्षकबाट १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नेपाल भ्रमणमा आएका विदेशी नागरिक स्वदेश फर्कने क्रममा बोर्डले भ्याटबाहेक प्रतिव्यक्ति १ हजार रुपैयाँ पर्यटन सेवा शुल्क लिँदै आएको छ ।
पर्यटन प्रवद्र्धन तथा बजारीकरणका लागि संकलन गरिने यही शुल्क बोर्डको कुल आम्दानीको प्रमुख आधार हो । बोर्डले पर्यटन सेवा शुल्कबाट मात्रै कुल बजेटको करिब ६९ प्रतिशत रकम जुटाउने लक्ष्य राखेको छ ।
त्यस्तै, पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीबाट ४ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य बोर्डले लिएको छ । नेपालमा आएका विदेशी पदयात्रीले पदयात्रामा जानुअघि अनिवार्य रूपमा टिम्स कार्ड लिनुपर्ने व्यवस्था छ । टिम्स कार्ड जारी गर्ने अधिकार पर्यटन बोर्डसँग रहेको छ ।
यसका अतिरिक्त बोर्डले सहभागिता योगदान, हलभाडा, ब्याजलगायत विभिन्न शीर्षकबाट समेत आम्दानी गर्ने अनुमान गरेको छ । पर्यटन क्षेत्रको प्रवर्धनमा ठूलो हिस्सा खर्च गर्ने गरी तयार पारिएको चालु आवको बजेटमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन पहिचान विस्तार गर्ने तथा पर्यटक आगमन बढाउने लक्ष्य बोर्डले लिएको छ ।


