Banijya News

एमालेमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेश, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

1
1.0K Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको शपथ ग्रहण गरेकी छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष पदको शपथ गराएका हुन्।

पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनलाई औपचारिक रूपमा पार्टीको नेतृत्व तहमा जिम्मेवारी दिइएको हो। असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिहीबार उनलाई पद तथा गोपनीयताको शपथ गराइएको हो।

शपथ ग्रहण कार्यक्रममा एमालेका शीर्ष नेताहरू तथा केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो। लामो समय राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँगै एमालेभित्र उनको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।

भण्डारीले शपथ ग्रहण गरेसँगै एमालेको स्थायी कमिटी बैठक पनि औपचारिक रूपमा सुरु भएको छ। पार्टीको आगामी राजनीतिक रणनीति, संगठनात्मक गतिविधि तथा समसामयिक विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

एमालेमा भण्डारीको प्रवेशलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाका दृष्टिले महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। राष्ट्रपति पदमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेकी भण्डारी यसअघि एमालेको सक्रिय राजनीतिमा रहँदा उपाध्यक्षसमेत भइसकेकी थिइन्।

राष्ट्रपति पदमा रहँदा संवैधानिक भूमिकामा सीमित रहेकी भण्डारीले पदबाट अवकाश पाएपछि पुनः पार्टी राजनीतिमा फर्किने विषयमा लामो समयदेखि राजनीतिक बहस हुँदै आएको थियो। वरिष्ठ नेताको जिम्मेवारी पाएसँगै अब उनले एमालेको संगठन र राजनीतिक गतिविधिमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने बाटो खुलेको छ।

1

Scroll to Top