Banijya News

श्रमिकलाई चाडपर्व खर्च दिन रोजगारदातालाई विभागको निर्देशन

1
1.0K Shares

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले श्रम ऐन, २०७४ ले श्रमिकलाई दिएको अधिकारअनुसार चाडपर्व खर्च समयमै उपलब्ध गराउन रोजगारदातालाई आग्रह गरेको हो ।

विभागका अनुसार श्रम ऐन, २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।

कानुनी व्यवस्थाअनुसार श्रमिकलाई उपलब्ध गराउनुपर्ने चाडपर्व खर्च नदिने रोजगारदाता तथा प्रतिष्ठानले ऐनको प्रावधान पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ । विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्था कार्यान्वयन गर्दै श्रमिकलाई समयमै चाडपर्व खर्च उपलब्ध गराउन आग्रह गरेको हो ।

चाडपर्व खर्च पाउनबाट वञ्चित भएमा सम्बन्धित श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन् । यसका लागि विभागले श्रमिकलाई सहज रूपमा आफ्ना समस्या तथा गुनासा राख्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

विभागका अनुसार श्रमिकले चाडपर्व खर्चलगायत श्रमसम्बन्धी समस्या, उजुरी तथा गुनासो इमेलमार्फत समेत पठाउन सक्नेछन् । साथै, उजुरी तथा गुनासो दर्ता गर्न सहज होस् भन्ने उद्देश्यले क्यूआर कोडको व्यवस्था पनि गरिएको छ ।

चाडपर्वको समयमा श्रमिकलाई कानुनबमोजिम पाउनुपर्ने सुविधा सुनिश्चित गर्न विभागले रोजगारदातालाई सचेत गराएको हो । विभागले श्रमिकका कानुनी हक तथा अधिकार संरक्षणका साथै श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ ।

यस व्यवस्थाले रोजगारदाता र श्रमिकबीचको श्रम सम्बन्धलाई व्यवस्थित बनाउन तथा श्रमिकले कानुनले सुनिश्चित गरेको चाडपर्व खर्च समयमै प्राप्त गर्ने वातावरण बनाउन सहयोग पुग्ने विभागको अपेक्षा छ ।

1

Scroll to Top