Banijya News

आफ्नो नाम जोडिएका उम्मेदवारको सूचीलाई आधिकारिक नमान्न गगन थापाको आग्रह

1
1.1K Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापाले आफ्नो नाम जोडेर केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको सूची प्रचार गरिएकोप्रति ध्यानाकर्षण गराउँदै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थनका रूपमा नलिन आग्रह गरेका छन्।

केन्द्रीय कार्यसमितिका लागि शुक्रबार मतदान सुरु भएपछि थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम र अफवाहमा नपर्न आग्रह गरेका हुन्। उनले यसपटक पार्टीभित्र कुनै प्यानल वा गुट नरहेको उल्लेख गर्दै प्रतिनिधिहरूले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताएका छन्।

थापाले कांग्रेसको वर्तमान महाधिवेशनलाई पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरेका छन्। उम्मेदवारहरूको नामावलीमा आफ्नो नाम जोडेर विभिन्न सूची सार्वजनिक भइरहेकाले त्यसलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा बुझ्न नहुने उनको भनाइ छ।

‘यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले आफ्नो नाम प्रयोग गरेर प्रचार गरिएका सूचीका आधारमा कुनै पनि उम्मेदवारप्रति धारणा नबनाउन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। महाधिवेशनमा विभिन्न पदका लागि प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूको नाम समेटेर तयार पारिएका सूचीलाई आफ्नो आधिकारिक निर्णयका रूपमा प्रस्तुत नगर्नसमेत उनले संकेत गरेका छन्।

थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि प्रकारको दबाब, भ्रम वा प्रभावमा नपरी मतदान गर्न अपिल गरेका छन्। उम्मेदवार छनोट गर्दा पार्टीको सर्वोपरि हितलाई केन्द्रमा राख्नुपर्ने उनको जोड छ। प्रतिनिधिहरूले आफ्नै विवेक, उम्मेदवारहरूको मूल्यांकन र व्यक्तिगत विश्वासका आधारमा मताधिकार प्रयोग गर्नुपर्ने उनले बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि मतदान भइरहेका बेला थापाको यो आग्रह आएको हो। नेतृत्व चयनको प्रक्रियामा उम्मेदवारहरूलाई समर्थन गर्ने नाममा विभिन्न सूची सार्वजनिक भइरहेका सन्दर्भमा उनले आफ्नो आधिकारिक धारणा स्पष्ट पारेका हुन्।

यसैबीच, बिहीबारका लागि निर्धारित निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो सुरु भएको विषयमा पनि थापाले महाधिवेशन प्रतिनिधिहरूसँग क्षमायाचना गरेका छन्। मतदानमा भएको ढिलाइबाट प्रतिनिधिहरूलाई पर्न गएको असुविधाप्रति उनले क्षमा मागेका हुन्।

महाधिवेशन प्रतिनिधिहरूले विवेकपूर्ण निर्णय लिने विश्वास व्यक्त गर्दै थापाले उनीहरूको मतले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्ने बताएका छन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानले पार्टीको आगामी दिशा, संगठनात्मक प्राथमिकता र नेतृत्व सञ्चालनको स्वरूप निर्धारण गर्ने भएकाले महाधिवेशन प्रतिनिधिहरूको निर्णयलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

1

Scroll to Top