Banijya News

प्रसारण शुल्क महँगो भएको इप्पानको ठहर, पुनरावलोकन गर्न माग

1
1.1K Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क अर्थात् ‘ह्विलिङ चार्ज’ को नयाँ मापदण्डको स्वागत गर्दै निर्धारण गरिएको शुल्क संरचना पुनरावलोकन गर्न माग गरेको छ । निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण ग्रिड प्रयोग गरी विद्युत् व्यापार गर्ने बाटो खुले पनि हालको शुल्क महँगो हुँदा नेपाली विद्युत्‌को प्रतिस्पर्धात्मक क्षमतामा असर पर्न सक्ने इप्पानको ठहर छ ।

विद्युत् नियमन आयोगले असोज १५ गते जारी गरेको ‘राष्ट्रिय प्रसारण ग्रिडको प्रसारण शुल्कसम्बन्धी मापदण्ड, २०८३’ ले निजी क्षेत्रको ऊर्जा विकासका लागि महत्वपूर्ण नियामकीय आधार तयार गरेको इप्पानले जनाएको छ । तर, शुल्क निर्धारण गर्दा अपनाइएको लागत गणना विधि र शुल्कको समग्र संरचनामाथि थप अध्ययन आवश्यक रहेको उसको निष्कर्ष छ ।

इप्पानको २०७औँ बैठकले मापदण्डबारे छलफल गर्दै शुल्क गणनाको आधार तथा सम्पूर्ण लागत संरचना सार्वजनिक र पारदर्शी बनाउनुपर्ने, प्रसारण लाइनको वास्तविक आर्थिक आयु, ह्रासकट्टी र वित्तीय लागतको यथार्थ मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएको छ ।

आयोगले मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका लागि प्रतिमेगावाट प्रतिमहिना चार लाख १२ हजार ७५५ रुपैयाँ र अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क तोकेको छ । इप्पानले भने मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका लागि निर्धारण गरिएको शुल्क निजी लगानी र विद्युत् व्यापारको आर्थिक सम्भाव्यताअनुकूल भए नभएको पुनरवलोकन गर्नुपर्ने जनाएको छ । साथै, ह्विलिङ शुल्क आवधिक रूपमा पुनरवलोकन गर्ने स्पष्ट नियामकीय व्यवस्था गर्न पनि माग गरेको छ ।

इप्पानका अनुसार जलविद्युत् आयोजनाको ६० देखि ६५ प्रतिशत प्लान्ट लोड फ्याक्टरका आधारमा गणना गर्दा वास्तविक प्रसारण लागत प्रतिकिलोवाट घण्टा करिब ९५ पैसा र प्रतिमेगावाट प्रतिमहिना छ लाख ८७ हजार ९२५ रुपैयाँसम्म पुग्न सक्छ । वर्षभरि प्रसारण क्षमता बुक गर्नुपर्ने अवस्था र आयोजनाको वास्तविक विद्युत् उत्पादनलाई समेत ध्यानमा राख्दा प्रतियुनिट ५७ पैसा शुल्कलाई मात्र आधार मानेर प्रसारण सेवा सस्तो भएको निष्कर्ष निकाल्न नमिल्ने इप्पानको भनाइ छ ।

आयोगले कर्मचारी तथा सञ्चालन खर्च, ह्रासकट्टी, दीर्घकालीन तथा चालू पुँजी ऋणको ब्याज, प्रसारण सेवा शुल्क र स्वपुँजी लगानीको प्रतिफललगायत समेटेर कुल ११ अर्ब एक करोड ५० लाख रुपैयाँको लागत आधारमा शुल्क निर्धारण गरेको उल्लेख छ । इप्पानले यति ठूलो लागतलाई आधार मान्नुको स्पष्ट र विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताएको छ ।

प्रसारण शुल्कका कारण नेपाली विद्युत्‌को लागत प्रतियुनिट डेढदेखि दुई रुपैयाँसम्म महँगिन सक्ने र त्यसले निर्यातको सम्भावनामा असर पार्न सक्ने इप्पानको दाबी छ । हाल विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेका आयोजनामा तत्काल ठूलो असर नपरे पनि भविष्यमा निर्यात लक्षित आयोजनाका लागि उच्च शुल्क चुनौती बन्न सक्ने उसको निष्कर्ष छ ।

नेपालभित्रको प्रसारण शुल्कमा क्रस–बोर्डर प्रसारण शुल्कसमेत थपिँदा नेपाली विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी बनाउन कठिन हुने इप्पानको तर्क छ । भारतमा हरित ऊर्जाका लागि प्रसारण शुल्कमा सुविधा उपलब्ध रहेको अवस्थामा नेपालले तुलनात्मक रूपमा उच्च शुल्क कायम गरे निर्यात प्रभावित हुन सक्ने उसको भनाइ छ ।

खुला पहुँचको मुख्य उद्देश्य निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउनु, बजार विस्तार गर्नु र उत्पादित विद्युत् स्वदेशी तथा अन्तरदेशीय बजारसम्म प्रतिस्पर्धात्मक लागतमा पुर्‍याउनु रहेको इप्पानले जनाएको छ । त्यसका लागि प्रसारण शुल्क लागतमा आधारित, वैज्ञानिक, पारदर्शी र पूर्वानुमानयोग्य हुनुपर्नेमा उसले जोड दिएको छ ।

नयाँ मापदण्डले निजी क्षेत्रका लागि राष्ट्रिय प्रसारण ग्रिड प्रयोग गर्ने बाटो औपचारिक रूपमा खोलेको भए पनि शुल्क संरचनालाई व्यावहारिक र प्रतिस्पर्धात्मक बनाउन आवश्यक रहेको इप्पानको भनाइ छ ।

1

Scroll to Top