Banijya News

चाडपर्वमा ग्यासको अभाव टार्न जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाइने

1
1.0K Shares

चाडपर्वको समयमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाउने भएका छन् ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको सहमतिअनुसार घटस्थापनादेखि फूलपातीसम्म यस्तो व्यवस्था लागू गरिने भएको हो ।

नयाँ व्यवस्थाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा साझा बिक्री केन्द्र सञ्चालन गरिनेछ । ती केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन् । यसका लागि ब्रान्ड फरक परेको भन्दै उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार प्रारम्भिक चरणमा पाँच स्थानमा साझा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ । काठमाडौंको बालाजुमा नेपाल ग्यासको आउटलेट, सीतापाइलामा एभरेस्ट र सुगमलगायत कम्पनीको केन्द्र, सुकेधारामा बाबा ग्यासको बिक्री केन्द्र तथा पेप्सीकोलामा सगर ग्यासको आउटलेटलाई साझा बिक्री केन्द्रका रूपमा राखिएको छ ।

त्यस्तै, ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको बिक्री केन्द्रलाई पनि सम्भावित साझा केन्द्रका रूपमा अघि सारिएको छ । उपभोक्ताको चाप र आवश्यकताका आधारमा थप स्थानमा समेत यस्ता केन्द्र विस्तार गर्न सकिने संघले जनाएको छ ।

अध्यक्ष चन्दका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने सबै ब्रान्डका सिलिन्डर यो व्यवस्थामा समेटिनेछन् । विशेषगरी एउटा वा दुईवटा मात्रै सिलिन्डर भएका उपभोक्ताले चाडपर्वका बेला ग्यास अभावका कारण समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले व्यवस्था गरिएको हो ।

पछिल्लो समय अविरल वर्षा, बाढीपहिरो र सार्वजनिक बिदाका कारण ग्यास वितरणमा देखिएको असहजतालाई कम गर्न उद्योगीहरूले यस्तो निर्णय गरेका हुन् ।

साझा बिक्री केन्द्रमा जम्मा भएका विभिन्न कम्पनीका खाली सिलिन्डर सम्बन्धित उद्योगीहरूले पछि आपसमा साटासाट गर्नेछन् । यसले उपभोक्तालाई ब्रान्डअनुसार सिलिन्डर खोज्नुपर्ने झन्झटबाट मुक्त गर्दै चाडपर्वमा ग्यास आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top