साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से शुक्रबार १७.१५ अंक बढेर २५९१.८० विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक बढेको छ ।
आज शुक्रबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने बाँकी अरु उपसमूहहरुको परिसूचक सामान्य बढेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । हिजो बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज मूल्य बढेका स्टकहरुको वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबार भएकामध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ४.९१ प्रतिशत बढेको छ । त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।


