Banijya News

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्था सबै जिल्लामा अनुगमन गरिने

1
1.0K Shares

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्थाबारे अनुगमनलाई तीव्र बनाएको जनाएको छ । महासन्धिका प्रावधान कार्यान्वयनको अवस्था बुझ्न सरकारले दोलखा र रामेछाप जिल्लामा अनुगमन सम्पन्न गरेको छ भने क्रमशः देशका सबै जिल्लामा अनुगमन तथा निरीक्षण गर्ने तयारी गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सरकारले महासन्धिको कार्यान्वयनको अवस्थाबारे स्थलगत अनुगमन गरिरहेको छ । अनुगमनमार्फत सम्बन्धित जिल्लामा महासन्धिका प्रावधान कार्यान्वयनको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन तथा महासन्धिमा उल्लेखित व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सरकारले अनुगमनलाई देशव्यापी बनाउने जनाएको छ । यसका लागि क्रमशः सबै जिल्लामा पुगेर निरीक्षण गर्ने योजना रहेको प्रवक्ता अर्यालले बताए ।

यसैबीच, सरकारले धनकुटा, सुनसरी र मोरङ जिल्लाका कारागार तथा केही हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकार अवस्थाबारे पनि अनुगमन गरेको छ । निरीक्षणका क्रममा उनीहरूको मानव अधिकारको अवस्था र सम्बन्धित निकायले निर्वाह गरिरहेको भूमिकाबारे जानकारी लिइएको कार्यालयले जनाएको छ ।

कैदीबन्दी तथा थुनुवाको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको प्रवक्ता अर्यालले बताए । कारागार तथा हिरासतमा रहेका व्यक्तिहरूको अधिकार संरक्षणका लागि आवश्यक व्यवस्थामा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको उनको भनाइ छ ।

सरकारले नागरिकका गुनासालाई प्रभावकारी रूपमा सम्बोधन गर्नसमेत काम भइरहेको जनाएको छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउने र सरकारी निकायका कामकारबाहीलाई नियमित अनुगमन गर्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

यसैगरी, सरकारले सिंहदरबारस्थित सबै मन्त्रालय तथा मन्त्रालय परिसरमा असोज २२ देखि २८ गतेसम्म सरसफाइ सप्ताह सञ्चालन गरेको छ । सरकारी कार्यालयको वातावरण सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो ।

अभियानलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा सरसफाइसम्बन्धी कामको अनुगमन तथा निरीक्षण गर्न एक जना फोकल पर्सन तोकिएको प्रवक्ता अर्यालले जानकारी दिए । तोकिएका फोकल पर्सनमार्फत मन्त्रालयभित्र र परिसरमा सरसफाइ भए–नभएको नियमित रूपमा अनुगमन गरिनेछ ।

सरसफाइसम्बन्धी गतिविधिको विवरण नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन पनि मन्त्रालयहरूलाई निर्देशन दिइएको छ । अभियान अवधिमा सरसफाइसम्बन्धी कामको अनुगमनसमेत भइरहेको अर्यालले बताए ।

सरकारले भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनको अनुगमन, कैदीबन्दी तथा थुनुवाको मानव अधिकार संरक्षण र सरकारी कार्यालयको सरसफाइजस्ता विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ ।

1

Scroll to Top