Banijya News

उपत्यकामा ६ स्थानमा ग्यास साटफेर हुने, कहाँ कुन साटफेर गर्न पाइने ?

1
1.1K Shares

चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकाका ६ स्थानमा विशेष बिक्री तथा सिलिन्डर साटफेर केन्द्र सञ्चालन गरिने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले आगामी आइतबार असोज २५ गतेदेखि यस्तो व्यवस्था लागू गर्न लागेको हो।

संघका अनुसार उक्त विशेष व्यवस्था असोज ३१ गते शनिबारसम्म सञ्चालन हुनेछ। यस अवधिमा उपत्यकाका विभिन्न ६ स्थानमा हरेक दिन बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म ग्यास खरिद तथा सिलिन्डर साटफेर गर्न सकिनेछ। उपभोक्ताले आफूलाई पायक पर्ने केन्द्रमा पुगेर आवश्यक ब्रान्डको ग्यास लिन सक्नेछन्।

विशेष बिक्री केन्द्रहरूमा फरक–फरक कम्पनीका ग्यास उपलब्ध गराइनेछ। काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास बिक्री तथा साटफेर हुनेछ। पेप्सीकोलामा सगर ग्यास उपलब्ध गराइनेछ भने बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ब्रान्डका ग्यास पाइने व्यवस्था गरिएको छ।

त्यसैगरी सुकेधारास्थित केन्द्रमा बाबा र श्री ग्यास उपलब्ध हुनेछन्। कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यासको बिक्री तथा साटफेर गरिनेछ भने ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराइने संघले जनाएको छ।

उपभोक्ताले सम्बन्धित केन्द्रमा फोन गरेर पनि आवश्यक जानकारी लिन सक्नेछन्। यसले ग्यास खोज्दै विभिन्न पसल धाउनुपर्ने बाध्यता कम गर्नुका साथै आफूले प्रयोग गरिरहेको ब्रान्डको सिलिन्डर उपलब्ध नभएमा वैकल्पिक व्यवस्था गर्न सहज हुने अपेक्षा गरिएको छ।

संघका अध्यक्ष दिवान चन्दका अनुसार बजारमा ग्यासको आपूर्ति सहज रहे पनि चाडपर्व नजिकिँदै गर्दा केही उपभोक्ताले ग्यास सहज रूपमा नपाएको गुनासो गरेका थिए। विशेषगरी एउटा ब्रान्डको सिलिन्डर प्रयोग गर्ने उपभोक्तालाई अर्को ब्रान्डको सिलिन्डर साट्ने व्यवस्था नहुँदा समस्या परेको थियो। उपभोक्ताका यिनै गुनासालाई सम्बोधन गर्न विशेष बिक्री तथा साटफेर केन्द्र सञ्चालन गर्न लागिएको उनले बताए।

संघले भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात नियमित र सहज रूपमा भइरहेको जनाएको छ। संघको तथ्यांकअनुसार गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको थियो। यसले बजारमा ग्यासको आपूर्ति निरन्तर भइरहेको संघको भनाइलाई पुष्टि गर्ने आधार प्रस्तुत गरेको छ।

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा लागू गर्न लागिएको यो व्यवस्थामा भने केही सीमा तोकिएका छन्। विशेष केन्द्रहरूमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गरिनेछ। साथै, संघले तोकेका छ केन्द्रबाहेक अन्य स्थानमा यस्तो सुविधा उपलब्ध नहुने स्पष्ट पारेको छ।

चाडपर्वका बेला ग्यासको माग र उपभोक्ताको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ल्याइएको यो व्यवस्थाले ग्यास खरिदमा देखिने असहजता कम गर्न तथा विभिन्न ब्रान्डका सिलिन्डर साटफेर गर्नुपर्ने उपभोक्तालाई राहत पु¥याउने अपेक्षा गरिएको छ।

1

Scroll to Top