Banijya News

नेपाल टेलिकमको दशैं-तिहार अफरमा एफटीटीएच जडान निःशुल्कदेखि सस्तो डाटा प्याकेजसम्म

1
1.0K Shares

नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दशैं-तिहार अफर २०८३’ उपलब्ध गराउने भएको छ। कम्पनीले ग्राहकलाई चाडपर्वका समयमा सहुलियत दरमा सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले एफटीटीएच इन्टरनेट, जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा विभिन्न छुट र विशेष प्याकेज ल्याउन लागेको हो। अफरअन्तर्गत इन्टरनेट जडान शुल्क मिनाहादेखि डाटा, भ्वाइस तथा एसएमएस प्याकेजसम्मका सुविधा समेटिएका छन्।

कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन। त्यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिनासहित कुल १३ महिनाको सेवा प्राप्त गर्नेछन्। यी प्याकेजमा बोनसका रूपमा उपलब्ध गराइने मोबाइल डाटा पनि १३ महिनासम्म उपलब्ध हुनेछ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि यसअघि नै उपलब्ध गराइएको १ हजार रुपैयाँ छुटसमेत निरन्तर रहने कम्पनीले जनाएको छ।

मोबाइल प्रयोगकर्ताका लागि पनि नेपाल टेलिकमले विशेष डाटा प्याकेज ल्याएको छ। अफरअन्तर्गत ४९९ रुपैयाँमा ५ जीबी दैनिक डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज र ६९९ रुपैयाँमा १० जीबी दैनिक डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज उपलब्ध हुनेछ। दुवै प्याकेजमा दैनिक निर्धारित डाटा सीमा सकिएपछि पनि इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

५ जीबीको फेस्टिभल अनलिमिटेड प्याकेज प्रयोग गर्ने ग्राहकले दैनिक डाटा सीमा समाप्त भएपछि बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा चलाउन सक्नेछन्। त्यसैगरी, १० जीबीको फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज लिने ग्राहकले दैनिक डाटा सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा इन्टरनेट प्रयोग गर्न पाउनेछन्। यसले नियमित रूपमा इन्टरनेट प्रयोग गर्ने ग्राहकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

टेलिकमले भ्वाइस र एसएमएस सेवामा पनि सहुलियत उपलब्ध गराउने भएको छ। २५० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने १ हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ। त्यस्तै, ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र प्रयोग गर्न मिल्ने १ हजार एसएमएससहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिनेछ। यी प्याकेजको अवधि ३० दिनको हुनेछ।

कम्पनीका अनुसार मोबाइल सेवाअन्तर्गतका यी विशेष प्याकेज असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकमको आधिकारिक एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन्।

दशैं, तिहार र छठजस्ता पर्वमा परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सञ्चार सेवाको प्रयोग बढ्ने भएकाले यस्ता सहुलियतले ग्राहकलाई सहज हुने कम्पनीको विश्वास छ। साथै, सस्तो दरमा डाटा, भ्वाइस र डिजिटल सेवा उपलब्ध गराउँदा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा नेपाल टेलिकमले गरेको छ।

1

Scroll to Top