लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक गतिविधि तथा विकास निर्माणसम्बन्धी कामले गति लिने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको स्रोतका रूपमा आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ र संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन भई बचत हुने अनुमानित ९ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतका रूपमा समावेश गरेको छ ।
बजेटमा सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा चालु आर्थिक वर्षका लागि बजेट पेस गरेका थिए । तर, उक्त बजेट पारित हुन सकेको थिएन । बजेट पारित हुन नसकेपछि प्रदेशमा राजनीतिक समीकरण परिवर्तन भई नेकपा र नेकपा एमालेको गठबन्धन सरकार गठन भएको थियो ।
एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका थिए । उनको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिनापछि सुदुरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको बजेट ल्याएको हो ।


