चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार साउन र भदौ महिनामा बीमितहरूले २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बराबरका बीमालेख समर्पण गरेका हुन् ।
प्राधिकरणका अनुसार समीक्षा अवधिमा पोलिसी सरेण्डर रकम गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा २.९४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन र भदौमा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकममा भने वृद्धि भएको देखिए पनि बीमालेख समर्पण गर्ने बीमितको संख्या घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १५ हजार ८९८ जनाले बीमालेख समर्पण गरेका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५.६७ प्रतिशतले घटेर १४ हजार ९९६ मा झरेको छ ।
यसैगरी, नवीकरण नगरिएका अर्थात् व्यतित बीमालेखको संख्यामा पनि कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १० लाख १० हजार ९९६ वटा बीमालेख नवीकरण भएका छैनन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख १३ हजार ५६२ रहेको थियो । यस आधारमा व्यतित बीमालेखको संख्या १६.६९ प्रतिशतले घटेको हो ।
यता, नवीकरण नगरिएका बीमालेखको कुल रकम पनि घटेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म व्यतित बीमालेख रकम ३५ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
तथ्यांकअनुसार व्यतित बीमालेख रकम अघिल्लो वर्षको तुलनामा २.३० प्रतिशतले घटेको छ । बीमालेख समर्पण गर्नेको संख्या तथा नवीकरण नगरिएका बीमालेखको संख्यामा आएको कमीले जीवन बीमा क्षेत्रमा यी सूचकहरूमा सुधार देखिएको छ ।


