Banijya News

कोरला नाकाबाट राजस्व संकलन लक्ष्यको ९२ प्रतिशत नाघ्यो

1
1.0K Shares

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिना पूरा नहुँदै कार्यालयले वार्षिक राजस्व लक्ष्यको करिब ९२.५४ प्रतिशत संकलन गरेको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि नौ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । लक्ष्य पूरा गर्न अब ६७ करोड १७ लाख रुपैयाँ संकलन गर्न बाँकी छ । बाँकी रकम वार्षिक लक्ष्यको करिब ७.४६ प्रतिशत हो ।

नेपाल–चीन सीमास्थित कोरला नाकाबाट हुने व्यापारको भन्सार जाँचपास गर्दै आएको कार्यालयले पछिल्लो समय आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य प्रगति गरेको जनाएको छ । कार्यालय प्रमुख विदुर चुडालका अनुसार निर्धारित समयभन्दा अगावै राजस्व संकलन वार्षिक लक्ष्यको नजिक पुगेको हो ।

साउनदेखि असोज २७ गतेसम्म कोरला नाकाबाट १९ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको भन्सार कार्यालयले नाकाबाट भित्रिने वस्तुको जाँचपास गर्दै आएको छ ।

रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने मालवस्तुको चाप कोरला नाकातर्फ बढेको हो । विशेषगरी विद्युतीय सवारीसाधन तथा अन्य सामग्री बोकेका कन्टेनरको आवागमन बढ्दा भन्सार राजस्वमा सकारात्मक प्रभाव परेको कार्यालयले जनाएको छ ।

यद्यपि, आयात बढे पनि बाढीपहिरोबाट प्रभावित सडकका कारण जाँचपास भएका सवारीसाधन तथा मालवस्तु गन्तव्यसम्म पुर्‍याउन समस्या भइरहेको छ ।सडक अवरोधका कारण विद्युतीय सवारीसाधनको ढुवानीसमेत प्रभावित बनेको छ । यसले कोरला नाकाबाट हुने व्यापारलाई थप सहज बनाउन सडक पूर्वाधार सुधार आवश्यक रहेको देखाएको छ ।

1

Scroll to Top