बडादशैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, पाकेटमारी, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ८ हजार १५ जना प्रहरी परिचालन गर्ने योजनासहित विशेष सुरक्षा योजना लागू गरिएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार फूलपातीदेखि छठपर्वसम्म लागू हुने सुरक्षा योजनाअन्तर्गत बजार, व्यापारिक केन्द्र, बसपार्क, वित्तीय संस्था, सार्वजनिकस्थल र उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाइएको छ। चाडपर्वका बेला किनमेल गर्नेको भीड बढ्ने, धेरै मानिस गाउँघर फर्किने तथा आर्थिक कारोबारमा वृद्धि हुने भएकाले सुरक्षा चुनौतीसमेत बढ्न सक्ने प्रहरीको आकलन छ। सोही अवस्थालाई ध्यानमा राख्दै सम्भावित अपराध नियन्त्रण, नागरिकको सुरक्षाको प्रत्याभूति र सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।
बजारदेखि प्रवेश नाकासम्म निगरानी
विशेष सुरक्षा योजनाअन्तर्गत नयाँ बसपार्क, कलंकीलगायतका भीडभाड हुने क्षेत्र र प्रमुख व्यापारिक केन्द्रमा प्रहरी परिचालन बढाइएको छ। नियमित गस्तीका अतिरिक्त सादा पोशाकका प्रहरी परिचालन गरी शंकास्पद गतिविधिमाथि निगरानी राख्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, आवश्यक स्थानमा ड्रोन क्यामेरा, सीसीटीभी र तालिमप्राप्त कुकुरको प्रयोगबाट सुरक्षा निगरानी गरिनेछ। सार्वजनिकस्थल तथा बढी मानिसको आवतजावत हुने क्षेत्रमा माइकिङमार्फत नागरिकलाई सचेत गराउने र सम्भावित जोखिमका विषयमा जानकारी दिने योजना पनि प्रहरीले अघि सारेको छ। उपत्यकाका थानकोट, साँगा, फर्पिङ, मुड्खु, टोखा, जर्सिङपौवा र भट्टेडाँडासहित सात प्रमुख प्रवेश नाकामा चेकजाँच भइरहेको छ। उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधन र यात्रुमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। सम्भावित विस्फोटक पदार्थ तथा लागूऔषध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न सूचना संकलन र प्रहरी परिचालनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
मापसे र लापसे जाँच २४ सै घण्टा
चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले जाँचलाई तीव्र बनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले असोज २५ गतेदेखि काठमाडौंको नयाँ बसपार्क र कलंकी, भक्तपुरको जगाती तथा ललितपुरको टीकाभैरव क्षेत्रमा मादक पदार्थ सेवन (मापसे) र लागूऔषध सेवन (लापसे) जाँच सञ्चालन गरिरहेको छ। प्रहरीले यस्तो जाँच २४ सै घण्टा गरिरहेको जनाएको छ। सुरक्षा योजना लागू भएपछि लागूऔषध सेवन गरेर सवारी चलाएको आरोपमा १२ जना र मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा २४६ जना नियन्त्रणमा परेका छन्। मापसे गरेर सवारी चलाउनेमध्ये १८ जना सार्वजनिक यातायातका चालक रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सार्वजनिक यातायातका चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा यात्रुको सुरक्षामै जोखिम उत्पन्न हुने भएकाले ट्राफिक जाँचलाई प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ। यात्रुको सुरक्षा सुनिश्चित गर्न नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको छ।
रातिको समयमा पनि विशेष अपरेसन
रातिको समयमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष ‘स्विप अपरेसन’ सञ्चालन गरेको छ। यस क्रममा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका ३४१ जनालाई नियन्त्रणमा लिएर उनीहरूको विवरण जाँच गरिएको प्रहरीले जनाएको छ। सम्भावित अपराध हुने स्थानमा रातिको गस्ती बढाइएको छ। आवश्यकताअनुसार तत्काल प्रहरी टोली परिचालन गर्ने व्यवस्था पनि मिलाइएको छ। विशेषगरी सुनसान सडक, व्यापारिक क्षेत्र र मानिसको आवतजावत कम हुने स्थानमा निगरानी बढाएर आपराधिक गतिविधि हुन नदिने प्रयास गरिएको छ।
१४ सेक्टरमा सुरक्षा जिम्मेवारी
काठमाडौं उपत्यकामा १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना कार्यान्वयन गरिएको छ। सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई आ–आफ्नो क्षेत्रको सुरक्षाको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी परिसरले समग्र अवस्थाको निगरानी तथा अनुगमन गर्नेछ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौं जिल्लामा मात्रै चाडपर्वलक्षित सुरक्षाका लागि ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। तीमध्ये १०० जना सादा पोशाकका प्रहरी रहेका छन्। यसरी उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा जनशक्ति परिचालन गरी चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
नागरिकलाई पनि सतर्क रहन आग्रह
प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नागरिकको सहयोगसमेत आवश्यक रहेको जनाएको छ। चाडपर्वमा घर छाडेर गाउँ वा अन्य स्थानमा जाँदा घरको ढोका, झ्याल र अन्य सुरक्षा व्यवस्था राम्रोसँग मिलाउन प्रहरीले आग्रह गरेको छ। त्यस्तै, भीडभाडमा नगद, मोबाइल फोन, गरगहना तथा अन्य बहुमूल्य सामान सुरक्षित राख्न, अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ। चाडपर्वका बेला बढ्ने भीडभाड, आर्थिक कारोबार र सवारी चापलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा निगरानीसँगै ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ। प्रहरीका अनुसार सुरक्षा निकाय र नागरिकबीचको सहकार्यबाट चोरी, ठगी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्दै चाडपर्वलाई सुरक्षित बनाउन सकिनेछ।


