नेपालमा तिहार (दीपावली) र छठ पर्व नजिकिएसँगै सुक्खा फलफूल (ड्राइफ्रुट्स) तथा भाइ मसलाको आयात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामै नेपालले ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातमा करिब साढे २ अर्ब रुपैयाँ खर्च गरेको छ । चाडपर्वका बेला विशेषगरी भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने सगुनमा यस्ता सामग्री अनिवार्यजस्तै भएकाले बजारमा यसको माग उच्च हुने गरेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच प्रकारका सुक्खा फलफूल तथा नरिवल आयात गर्दा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ विदेशिएको छ । उक्त आयातबाट सरकारले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
तिहारमा भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि ओखर, काजु, बदाम, किसमिस, नरिवललगायत सामग्री सगुनका रूपमा दिने चलन छ । यसबाहेक छठ पर्वमा पनि नरिवललगायत फलफूलको प्रयोग बढी हुने भएकाले यो समयमा बजारमा यस्ता वस्तुको माग बढ्ने गरेको छ । बढ्दो मागको ठूलो हिस्सा भने आयातबाटै धान्नुपर्ने अवस्था छ ।
आयात विवरणअनुसार रकमका आधारमा सबैभन्दा बढी खर्च ओखरमा भएको छ । तीन महिनाको अवधिमा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार २५० किलोग्राम ओखर नेपाल भित्रिएको छ । ओखर आयातबाट सरकारले १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । नेपालमा खपत हुने ओखरको ठूलो हिस्सा चीनबाट आउने गरेको छ । यस अवधिमा चीनबाट ४७ करोड २ लाख र अमेरिकाबाट १८ करोड ३६ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ ।
परिमाणका आधारमा भने नरिवलको आयात सबैभन्दा बढी छ । चालु आर्थिक वर्षको तीन महिनामा १ करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल आयात भएको छ । यसको आयात मूल्य ५६ करोड ६० लाख ७० हजार रुपैयाँ रहेको छ । नरिवल आयातबाट ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा खपत हुने नरिवलको आयात लगभग पूर्ण रूपमा भारतमा निर्भर रहेको छ ।
त्यस्तै, बदाम आयातमा ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ । यस अवधिमा ५ लाख ९ हजार ७८ किलोग्राम बदाम नेपाल भित्रिएको छ । यसबाट सरकारले ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । बदामको मुख्य आपूर्तिकर्ता अमेरिका रहेको छ । अमेरिकाबाट मात्रै ४७ करोड ४२ लाख रुपैयाँ बराबरको बदाम आयात भएको तथ्याङ्कले देखाउँछ ।
भाइ मसलामा विशेष महत्त्व राख्ने काजुको आयात पनि उच्च देखिएको छ । तीन महिनामा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको ४ लाख ६९ हजार ५१६ किलोग्राम काजु नेपाल भित्रिएको छ । काजु आयातबाट सरकारले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा काजुको मुख्य आपूर्ति भारत र भियतनामबाट हुने गरेको छ । यस अवधिमा भारतबाट २५ करोड २८ लाख र भियतनामबाट २१ करोड २७ लाख रुपैयाँ बराबरको काजु आयात भएको छ ।
यसैगरी, किसमिस आयातमा २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ । तीन महिनामा ७ लाख ३३ हजार ५९८ किलोग्राम किसमिस भित्रिएको छ । यसबाट ६ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । किसमिसको मुख्य आपूर्तिकर्ता चीन हो । चीनबाट १९ करोड ९१ लाख र भारतबाट ७ करोड ७० लाख रुपैयाँ बराबरको किसमिस आयात भएको छ ।
गत वर्ष साढे चार अर्बको आयात
नेपालमा सुक्खा फलफूल तथा नरिवलको आयात हरेक वर्ष अर्बौं रुपैयाँको हुने गरेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै कुल ३ करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम सुक्खा फलफूल तथा नरिवल आयात भएको थियो । उक्त आयातको कुल मूल्य ४ अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यसबाट सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
गत आर्थिक वर्ष रकमका आधारमा सबैभन्दा बढी किसमिस आयात भएको थियो । वर्षभरिमा १ अर्ब २२ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ३३ लाख १० हजार ३३ किलोग्राम किसमिस आयात भएको थियो । यसबाट २९ करोड ९० लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । किसमिसको मुख्य स्रोत चीन रहेको छ । चीनबाट मात्रै १ अर्ब २० करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको किसमिस आयात भएको थियो । भारतबाट भने २ करोड ९२ लाख रुपैयाँको किसमिस भित्रिएको थियो ।
त्यस्तै, गत आर्थिक वर्ष बदाम आयातमा ९० करोड १७ लाख ४ हजार रुपैयाँ खर्च भएको थियो । यस अवधिमा १० लाख ४१ हजार ९१३ किलोग्राम बदाम आयात हुँदा सरकारले २१ करोड ९६ लाख २७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो । बदामको प्रमुख स्रोत अमेरिका हो । अमेरिकाबाट मात्रै ८८ करोड १३ लाख रुपैयाँभन्दा बढीको बदाम नेपाल आएको थियो । बाँकी बदाम चीन र भारतबाट आयात गरिएको थियो ।
गत वर्ष ८७ करोड ७० लाख २३ हजार रुपैयाँ बराबरको ९ लाख ५३ हजार ९४९ किलोग्राम काजु आयात भएको थियो । यसबाट २६ करोड ३३ लाख ९४ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । काजु आयातमा भियतनाम पहिलो स्थानमा रहेको थियो । भियतनामबाट ४१ करोड ३६ लाख ८८ हजार रुपैयाँ बराबरको काजु आयात भएको थियो भने भारतबाट ३३ करोड ६९ लाख रुपैयाँभन्दा बढीको काजु भित्रिएको थियो । आइभोरी कोस्ट, चीन, बेनिन र नाइजेरियाबाट समेत काजु आयात भएको थियो ।
परिमाणका आधारमा गत वर्ष पनि नरिवल नै सबैभन्दा अगाडि थियो । एक वर्षमा ३ करोड ११ लाख ७७ हजार ८३२ किलोग्राम नरिवल आयात गर्दा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ विदेशिएको थियो । यसबाट सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । नरिवलको आपूर्ति लगभग शतप्रतिशत भारतबाट भएको थियो ।
यसैगरी, गत आर्थिक वर्ष ३७ करोड ९५ लाख ८१ हजार रुपैयाँ बराबरको ३ लाख ६४ हजार ७१८ किलोग्राम बोक्रा हटाइएको ओखर आयात भएको थियो । यसबाट ९ करोड २२ लाख ७६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । ओखरको लगभग सम्पूर्ण आयात चीनबाट भएको थियो ।
गत आर्थिक वर्षको कुल आयातसँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सुक्खा फलफूल तथा नरिवल आयातमा गत वर्षको वार्षिक रकमको आधाभन्दा बढी खर्च भइसकेको छ । यसले चाडपर्वको समयमा नेपाली बजारमा यस्ता वस्तुको माग र आयात दुवै उच्च रहने गरेको देखाउँछ ।


