Banijya News

नेपालमा लगानी गर्न युएईका व्यवसायीलाई ढकालको आग्रह, भैरहवामा सिधा उडानका लागि अनुरोध

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं ग्लोबल आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालको जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेट गर्दै नेपालमा उपलब्ध लगानीका सम्भावनाबारे जानकारी गराएका हुन्। ढकालको निजी सचिवालयका अनुसार भेटमा नेपाल र युएईबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने र निजी क्षेत्रबीच सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

भेटका क्रममा ढकालले नेपालमा लगानीका लागि अनुकूल सम्भावना रहेका क्षेत्रबारे प्रकाश पार्दै युएईका व्यवसायी तथा लगानीकर्तालाई नेपालमा पूँजी परिचालन गर्न आग्रह गरेका थिए। उनका अनुसार जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि र डेटा सेन्टरजस्ता क्षेत्रमा नेपालले विदेशी लगानी आकर्षित गर्न सक्ने पर्याप्त आधारहरू छन्।

विशेषगरी जलविद्युत् क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत, पर्यटनका लागि हिमाल, धार्मिक तथा सांस्कृतिक सम्पदा र कृषि क्षेत्रमा रहेको व्यावसायिक सम्भावनालाई विदेशी लगानीकर्ताले उपयोग गर्न सक्ने उनको भनाइ थियो। नेपालमा सूचना प्रविधि क्षेत्रको विस्तारसँगै डेटा सेन्टर निर्माण र डिजिटल पूर्वाधार विकासमा समेत लगानीको सम्भावना बढिरहेको उल्लेख गर्दै ढकालले युएईका लगानीकर्तालाई दीर्घकालीन व्यावसायिक अवसरको खोजी गर्न आग्रह गरेका थिए।

ढकालले नेपालमा पर्याप्त स्वच्छ ऊर्जा उपलब्ध हुनु र यहाँको अनुकूल तथा चिसो हावापानीका कारण सूचना प्रविधि र डेटा सेन्टर स्थापनाका लागि राम्रो सम्भावना रहेको बताएका थिए। विश्वव्यापी रूपमा डेटा भण्डारण, क्लाउड सेवा तथा डिजिटल पूर्वाधारको माग बढिरहेका बेला नेपालले यस क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न सक्ने उनको भनाइ थियो।

त्यसैगरी, नेपालको पर्यटन पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न केबलकार, स्की रिसोर्ट तथा उच्चस्तरीय पर्यटकीय संरचनामा लगानी गर्न सकिने सम्भावनासमेत उनले औँल्याएका थिए।

लगानीको वातावरण र कानुनी स्पष्टतामा जोड
भेटमा विदेशी लगानीकर्ताको विश्वास बढाउन नेपाल र युएईबीचको द्विपक्षीय लगानी सम्झौता (बीआईए) तथा दोहोरो कराधान निवारण सम्झौतालगायत कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने विषय पनि उठेको थियो। ढकालले लगानीकर्ताका लागि स्पष्ट नीति, स्थिर कानुनी व्यवस्था र सहज व्यावसायिक वातावरण आवश्यक रहेको उल्लेख गर्दै सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण र निरन्तर संवाद हुनुपर्नेमा जोड दिएका थिए। भेटमा नेपाल र युएईबीच सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको विषयले पनि महत्त्व पाएको थियो। युएईका विदेश व्यापारमन्त्री अल जेउदीले स्वर्णजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने प्रस्ताव राखेका थिए। ढकालले उक्त प्रस्तावको स्वागत गर्दै स्वर्णजयन्तीलाई दुई देशबीचको आर्थिक साझेदारी थप उचाइमा पुर्‍याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए।

पोखरापछि भैरहवामा पनि सिधा उडानको पहल
ढकालले भेटका क्रममा हवाई सम्पर्क विस्तारको विषयलाई समेत प्राथमिकताका साथ उठाएका थिए। युएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेकोमा उनले प्रशंसा गरेका थिए। फ्लाई दुबईले सन् २०२६ सेप्टेम्बर २३ देखि दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्दै आएको छ। यो उडानले पोखराको पर्यटन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ अवसर सिर्जना गरेको छ।

ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा पनि युएईबाट सिधा उडान सञ्चालन गर्न आवश्यक पहल गरिदिन मन्त्री अल जेउदीसँग आग्रह गरेका थिए। भैरहवामा सिधा उडान सुरु भएमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग युएईसहित खाडी मुलुक र अन्तर्राष्ट्रिय पर्यटकको पहुँच सहज हुने उनको धारणा थियो।

1

Scroll to Top