Banijya News

छठले चम्कायो केराको बजार, आयात शून्य हुँदा मूल्यमा चर्को वृद्धि

1
1.0K Shares

छठ पर्व नजिकिएसँगै तराई–मधेसका बजारमा केराको कारोबार निकै बढेको छ। सूर्य उपासनाको महापर्वका रूपमा मनाइने छठमा केराको घरीलाई मुख्य प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले जनकपुरधामसहित विभिन्न बजारमा यसको माग उच्च भएको हो। पर्वका लागि आवश्यक सामग्री खरिद गर्न उपभोक्ताको भीड बढेसँगै फलफूल पसलहरूमा पनि चहलपहल तीव्र बनेको छ।

यस वर्षको छठमा भने नेपाली केराले बजारमा विशेष स्थान पाएको छ। विगतका वर्षहरूमा भारतबाट ठूलो परिमाणमा केरा आयात गर्नुपर्ने अवस्था रहे पनि यसपटक भारतीय केराको आयात शून्य रहेको व्यवसायीहरूले बताएका छन्। नेपालकै विभिन्न जिल्लामा उत्पादित केराले बजारको माग धानिरहेको उनीहरूको भनाइ छ।

जनकपुर फलफूल व्यवसायी सङ्घका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस वर्ष बजारमा भारतबाट केरा भित्रिएको छैन। कैलालीको टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा, निजगढ, बिर्तामोड, शनिश्चरे, इनरुवा र कोशी क्षेत्रबाट केरा आपूर्ति भइरहेको छ। स्वदेशी उत्पादनको आपूर्ति राम्रो भएकाले छठका लागि केराको अभाव नहुने उनले बताए।

यादवका अनुसार बजारमा मिर्चमान जातको केरा प्रतिघरी एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। त्यस्तै गोपाल जातको केराको मूल्य प्रतिघरी पाँच सयदेखि एक हजार रुपैयाँसम्म छ। गोपाल र बन्सीबोट जातका केरा पर्याप्त उपलब्ध रहेको र आगामी एक–दुई वर्षमा मिर्चमान तथा चम्पा जातका केराको उत्पादन पनि नेपालमै विस्तार हुने उनको विश्वास छ।

विगतमा भारतबाट मिर्चमान र चम्पा जातका केरा ठूलो परिमाणमा आयात हुने गरेको थियो। तर पछिल्लो समय नेपालमै व्यावसायिक केराखेती विस्तार हुँदै गएपछि आयातमा निर्भरता घट्दै गएको व्यवसायीहरूको भनाइ छ।

नेपालमा केराखेतीको सम्भावना बढ्दै गएको विषयले राष्ट्रिय बजारमा पनि चर्चा पाउन थालेको छ। सार्वजनिक कृषि बजारसम्बन्धी विवरणअनुसार नेपालमा वार्षिक करिब नौ लाख टन केराको माग रहने गरेको छ भने गत वर्ष करिब सात लाख टन उत्पादन भएको थियो। व्यावसायिक खेती विस्तारसँगै स्वदेशी उत्पादनले चाडपर्वको माग धान्ने अवस्था बलियो बन्दै गएको छ।

यद्यपि, बजारमा स्वदेशी केराको उपलब्धता बढे पनि उपभोक्ताले भने मूल्यवृद्धिको मार खेप्नुपरेको गुनासो गरेका छन्। विगतमा भारतीय केरा आउँदा मूल्यमा प्रतिस्पर्धा हुने र तुलनात्मक रूपमा सस्तोमा खरिद गर्न पाइने गरेको उनीहरूको भनाइ छ। अहिले व्यापारीहरूले केराको घरीको मूल्य १२ सयदेखि १५ सय रुपैयाँसम्म माग्ने गरेको उपभोक्ताहरू बताउँछन्।

पहिले ६–७ सय रुपैयाँमा पाइने केराको मूल्य अहिले झन्डै दोब्बर पुगेको भन्दै उपभोक्ताले चाडपर्वको मौका छोपेर मूल्य बढाउने प्रवृत्ति नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

यसअघि सन् २०२४ मा छठलाई लक्षित गरी जनकपुरधाममा मात्रै करिब पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको थियो। त्यसबेला ८५ ट्रकसम्म केरा भित्र्याइएको व्यवसायीहरूले बताएका थिए। यस वर्ष भने स्वदेशी उत्पादनले बजार पाउनु कृषि क्षेत्रका लागि सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा केरासँगै नरिवल, उखु, स्याउ, सुन्तला, भोगटे, अदुवा, ठेकुवा र अन्य फलफूल तथा प्रसाद चढाउने परम्परा छ। चार दिनसम्म मनाइने यस पर्वमा व्रतालुहरूले कठोर नियम पालना गर्दै नदी, तलाउ तथा पोखरीमा पुगेर सूर्यको पूजा गर्ने गर्छन्।

स्वदेशी केराले बजार पाउनु किसानका लागि उत्साहजनक भए पनि उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति प्रणाली व्यवस्थित नहुँदा मूल्यवृद्धिको समस्या देखिएको छ। त्यसैले कृषि उत्पादन बढाउनुका साथै बजार अनुगमन र मूल्य नियन्त्रणमा समेत सरकारी निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

1

Scroll to Top