वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि वर्षौँदेखि हुँदै आएको आर्थिक शोषणमा सरकारी उच्च नेतृत्वकै संलग्नता रहेको आरोप सार्वजनिक भएको छ । श्रमिकसँग गैरकानुनी रूपमा संकलन गरिएको रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेपछि यो प्रकरणले थप गम्भीर मोड लिएको छ ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् । उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
यो प्रकरणले वैदेशिक रोजगार क्षेत्रमा मौलाउँदै गएको बिचौलियाको प्रभाव, सरकारी निकायको जवाफदेहिता र श्रमिकको अधिकार संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रहरी अनुसन्धानअनुसार नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीविपरीत बायो मेडिकल सिस्टम (बीएमएस) का नाममा नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल गरिएको थिया े। एक कामदारबाट १०० रिंगेट अर्थात् करिब ३ हजार ६०० रुपैयाँ उठाउने गरिएको थियो । जबकि दुई देशबीचको सम्झौतामा यस्तो अतिरिक्त शुल्क उठाउने व्यवस्था नरहेको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।
सीआईबीका अनुसार यसरी मलेसिया जाने करिब साढे सात लाख नेपाली कामदारबाट साढे दुई अर्ब रुपैयाँ असुल गरिएको छ । असुल गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत मलेसिया पठाउने निर्णय भएको थियो । उक्त निर्णयमा तत्कालीन श्रम मन्त्रालयको नेतृत्वले अधिकार क्षेत्र नाघेर सहयोग गरेको प्रहरीको आरोप छ ।
यस प्रकरणको गम्भीर पक्ष श्रमिकबाट अतिरिक्त रकम असुलिनु मात्र होइन, सरकारी संयन्त्रकै निर्णय प्रक्रियाबाट त्यस्तो रकम विदेश पठाउन सहजीकरण गरिएको आरोप हो । वैदेशिक रोजगारीमा जाने श्रमिकको आर्थिक सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्ने मन्त्रालयकै नेतृत्वमाथि अनियमिततालाई संस्थागत सहयोग गरेको आरोप लाग्नुले सार्वजनिक प्रशासनको पारदर्शिता र नियमन क्षमतामाथि प्रश्न उठाएको छ ।
यसअघि मेडिकल व्यवसायी कैलाश खड्कालगायत चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो । खड्कासहित रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीमाथि पनि ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । सीआईबीका अनुसार व्यवसायीहरूको योजनामा सन् २०१९ देखि नै कामदारबाट अतिरिक्त शुल्क असुल्ने क्रम चलेको थियो ।
अर्कोतर्फ, सरकारले अतिरिक्त शुल्क हटाउन खोज्दा व्यवसायीहरूले असहमति जनाएपछि मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया नै प्रभावित भएको छ । यसले अवैध शुल्कको विषय श्रमिकको व्यक्तिगत आर्थिक क्षतिमा मात्र सीमित नरहेको देखाउँछ । यसले नेपालको वैदेशिक रोजगार प्रणाली, रोजगारीका अवसर र दुई देशबीचको श्रम सम्बन्धलाई समेत प्रभावित गरेको छ ।
वर्षौँदेखि चलिरहेको यस्तो असुली प्रणाली कसरी सञ्चालन भयो, नियामक निकाय किन मौन रहे र कसको संरक्षणमा ठगी सम्भव भयो भन्ने प्रश्नको निष्पक्ष जवाफ खोजिनु पर्दछ ।
वैदेशिक रोजगारीबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका श्रमिकमाथि हुने आर्थिक शोषण रोक्न सरकारको प्रतिबद्धता व्यवहारमै देखिनुपर्छ । दोषीमाथि कानुनी कारबाहीसँगै गैरकानुनी रूपमा उठाइएको रकम फिर्ता गर्ने र भविष्यमा यस्ता गतिविधि रोक्ने प्रभावकारी संयन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।


