Banijya News

पीपीएको नयाँ मापदण्डले निजी ऊर्जा क्षेत्र असन्तुष्ट, आरओआर आयोजनामाथि कडाइ गरिएको आरोप

1
1.0K Shares

नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् खरिद सम्झौता (पीपीए) को नयाँ प्रारूपप्रति निजी क्षेत्रका ऊर्जा  प्रवर्द्धकहरूले तीव्र असन्तुष्टि जनाएका छन् । पीपीए खुला गर्ने र निजी क्षेत्रमैत्री नीति ल्याउने प्रतिबद्धता व्यक्त भइरहेका बेला उल्टै निजी क्षेत्रलाई निरुत्साहित गर्ने खालका कडा प्रावधानसहितको कार्यविधि ल्याउन लागिएको भन्दै  प्रवर्द्धकहरू आक्रोशित बनेका हुन् ।

प्रस्तावित प्रारूपमा विशेषगरी नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनालाई प्रतिकूल हुने गरी अंकभार प्रणाली र सुक्खायामको ऊर्जा उत्पादनसम्बन्धी मापदण्ड राखिएको  प्रवर्द्धकहरूको आरोप छ । यस विषयमा छलफल गरी आवश्यक निर्णय लिन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आज आकस्मिक बैठक बोलाएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको प्रारूपअनुसार पीपीएमा छनोट हुन आयोजनाले अनिवार्य न्यूनतम योग्यता पूरा गर्नुका साथै १०० पूर्णांकको मूल्यांकनमा कम्तीमा ८० अंक प्राप्त गरी ‘ए’ वर्गमा पर्नुपर्ने व्यवस्था छ । तर, आरओआर आयोजनाका लागि उक्त अंक प्राप्त गर्न निकै कठिन हुने  प्रवर्द्धकहरूको भनाइ छ ।

प्रस्तावित मूल्यांकन प्रणालीमा प्रणालीगत मूल्यबापत छुट्याइएको ३० अंकमध्ये जलाशययुक्त आयोजनालाई पाँच अंक दिइएको छ भने आरओआर आयोजनालाई एक अंक मात्रै प्रदान गरिएको छ । यसले आरओआर आयोजनालाई प्रतिस्पर्धामा कमजोर बनाउने उनीहरूको तर्क छ ।

त्यस्तै, पीपीएका लागि सुक्खायाममा कम्तीमा ३० प्रतिशत ऊर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सुक्खायाममा ४५ प्रतिशतभन्दा बढी ऊर्जा उत्पादन गरे मात्रै पूर्ण १० अंक प्राप्त हुने प्रावधान राखिएको छ । कबुल गरेअनुसार सुक्खायाममा ऊर्जा उपलब्ध गराउन नसके खरिद दरको १५० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ ।

प्रवर्द्धकहरूका अनुसार सुक्खायाममा नदीको बहाव घट्ने भएकाले आरओआर आयोजनाबाट ४५ प्रतिशत ऊर्जा उत्पादन गर्नु प्राविधिक रूपमा नै कठिन छ । हाल पीपीएको प्रतीक्षामा रहेका करिब १९ हजार मेगावाट क्षमताका आयोजनामध्ये अधिकांश आरओआर प्रकृतिका छन् । यस्तो अवस्थामा प्रस्तावित मापदण्डले अधिकांश आयोजना पीपीएबाट वञ्चित हुन सक्ने उनीहरूको चिन्ता छ ।

निजी क्षेत्रको लगानी जोखिममा पार्ने गरी कार्यविधि ल्याउन खोजिएको भन्दै प्रवद्र्धकहरूले प्रारूप पारित भए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनीहरूका अनुसार निजी क्षेत्रले जलविद्युत् आयोजना अध्ययन, सम्भाव्यता अनुसन्धान र अनुमतिपत्र प्राप्त गर्न ठूलो लगानी गरिसकेको छ । प्रस्तावित नीतिले उक्त लगानी जोखिममा पर्नेछ ।

इप्पानका उपाध्यक्ष प्रकाश दुलालले विद्युत् ऐन, २०४९ पछि निजी क्षेत्रलाई जलविद्युत् विकासमा सहभागी गराइएयता अध्ययन र लाइसेन्समा मात्रै खर्बौँ रुपैयाँ लगानी भइसकेको बताए । उनका अनुसार, विगतमा पनि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले पाँच हजार मेगावाटको पीपीए खुलाउने निर्णय गर्दै सूचना जारी गरे पनि पछि प्रक्रिया अवरुद्ध भएको थियो ।

सरकार आफैँले मात्रै जलविद्युत् आयोजना निर्माण गर्ने नीति व्यावहारिक नहुने दुलालको भनाइ छ । सरकारले निर्माण गरेका आयोजनाको लागत र निर्माण अवधि हेर्दा निजी क्षेत्रलाई रोक्नु उचित नहुने उनले बताए ।

‘सरकारसँग प्रसारण लाइन निर्माण गर्ने र बाढीले क्षति पुर्‍याएका आयोजना पुनर्निर्माण गर्ने स्रोतसमेत छैन । यस्तो अवस्थामा निजी क्षेत्रलाई रोकेर सरकार आफैँले बिजुली बनाउँछु भन्नुले मुलुकको ऊर्जा यात्रा पछाडि धकेलिन्छ,’ उनले भने ।

दुलालले प्रस्तावित नीतिले सरकारले अघि सारेको ऊर्जा उत्पादन र निर्यातको लक्ष्यसमेत प्रभावित हुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, १५ हजार मेगावाट आन्तरिक खपत गर्ने र बाँकी १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य निजी क्षेत्रको सहभागिताबिना पूरा हुन नसक्ने उनको दाबी छ ।

निजी क्षेत्रको लगानी र सहभागितालाई निरुत्साहित गर्ने गरी पीपीएको मापदण्ड ल्याइए जलविद्युत् विकासमा ठूलो अवरोध सिर्जना हुने  प्रवर्द्धकहरूको निष्कर्ष छ । त्यसैले प्रस्तावित प्रारूप सच्याएर निजी क्षेत्रमैत्री र आयोजनाको प्रकृतिअनुसार व्यावहारिक मापदण्ड बनाउनुपर्ने उनीहरूको माग छ ।

1

Scroll to Top