Banijya News

वैकल्पिक लगानी कोषमा नयाँ ढोका खोल्दै सेबोनको मस्यौदा सार्वजनिक

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैकल्पिक लगानी कोषको दायरा विस्तार गर्दै निजी पुँजी परिचालनलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नियामकीय व्यवस्था प्रस्ताव गरेको छ । बोर्डले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै निजी इक्विटी, भेन्चर क्यापिटल, एन्जल फण्ड, हेज फण्ड, पूर्वाधार तथा सामाजिक प्रभाव फण्डलगायतका कोष सञ्चालन गर्न सकिने व्यवस्था अघि सारेको हो ।

प्रस्तावित नियमावलीले बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने ऋण र सार्वजनिक पुँजी बजारमा मात्र निर्भर रहेको लगानी प्रणालीलाई फराकिलो बनाउँदै स्टार्टअप, उद्यमशीलता, साना तथा मझौला व्यवसाय र प्रविधि विकासमा दीर्घकालीन निजी पुँजी परिचालन गर्ने लक्ष्य राखेको छ ।

मस्यौदाअनुसार वैकल्पिक लगानी कोष कम्पनी, ट्रष्ट वा सीमित दायित्व साझेदारी संरचनामा स्थापना गर्न सकिनेछ । लगानीको प्रकृति र जोखिमका आधारमा कोषलाई तीन श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । यसअन्तर्गत प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फण्डसँगै एन्जल फण्ड, साना तथा मझौला उद्यम फण्ड, सामाजिक प्रभाव फण्ड, पूर्वाधार फण्ड, ऋण फण्ड, फण्ड अफ फण्ड्स र विशेष परिस्थितिका फण्ड समेटिएका छन् ।

यसअघि कार्यान्वयनमा रहेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई परिमार्जन गर्दै नयाँ नाम र विस्तारित संरचनासहित मस्यौदा तयार गरिएको हो । कोष स्थापना गर्न बोर्डको पूर्वस्वीकृति लिनुपर्ने, कम्पनी स्थापना गर्नुपर्ने र आवश्यक अनुमतिपत्र प्राप्त गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमतिपत्र जारी गर्नुअघि कोष सञ्चालनका लागि आवश्यक पूर्वाधारको स्थलगत निरीक्षणसमेत गरिनेछ ।

कोष व्यवस्थापकको न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँबाट बढाएर ५ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव मस्यौदाको महत्त्वपूर्ण पक्ष हो । यसअघि नै अनुमतिपत्र प्राप्त गरिसकेका व्यवस्थापकलाई नयाँ पुँजी सीमा कायम गर्न तीन वर्षको सङ्क्रमणकालीन अवधि दिने प्रस्ताव गरिएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार वैकल्पिक लगानी कोषको न्यूनतम आकार १५ करोड रुपैयाँ हुनुपर्नेछ । कोष व्यवस्थापकले समेत कोषमा कम्तीमा २ प्रतिशत लगानी गर्नुपर्नेछ । एउटा कोषमा अधिकतम २०० जना इकाइधनी रहन सक्नेछन् भने कोष बन्दमुखी प्रकृतिको हुनेछ । सामान्य कोषमा प्रतिइकाइधनी न्यूनतम ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने प्रस्ताव छ । तर भेन्चर क्यापिटल, साना तथा मझौला उद्यम, सामाजिक प्रभाव र एन्जल फण्डमा भने न्यूनतम लगानी सीमा २५ लाख रुपैयाँ कायम गर्न खोजिएको छ ।

कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश तथा सामाजिक सुरक्षा कोष, संस्थागत लगानीकर्ता, विदेशी लगानीकर्ता, नेपाली नागरिक र गैरआवासीय नेपालीले लगानी गर्न सक्नेछन्। कोषका इकाइ सार्वजनिक निष्कासनमार्फत बिक्री नगरी लक्षित लगानीकर्तालाई निजी रूपमा बिक्री गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, लगानीकर्ताले कोषमा लगानी गर्ने सम्पूर्ण रकम एकैपटक बुझाउनुपर्ने बाध्यता हटाउँदै लगानी प्रतिबद्धताको व्यवस्था गर्न खोजिएको छ । कोषलाई रकम आवश्यक पर्दा लगानीकर्ताले गरेको प्रतिबद्धताअनुसार चरणबद्ध रूपमा पुँजी माग गरी परिचालन गर्न सकिनेछ । कोषले पहिलो चरणको पुँजी संकलन १२ महिनाभित्र र अन्तिम पुँजी सङ्कलन २४ महिनाभित्र पूरा गर्नुपर्नेछ ।

कोषको अवधि पाँचदेखि १५ वर्षसम्म प्रस्ताव गरिएको छ । अवधि समाप्त भएपछि नयाँ लगानी गर्न नपाइने भए पनि विशेष परिस्थितिमा इकाइधनीको स्वीकृति लिएर विद्यमान लगानीको संरक्षण, पुनर्संरचना वा निरन्तरताका लागि थप लगानी गर्न सकिनेछ ।

लगानीको विविधीकरण र जोखिम नियन्त्रणका लागि एउटै कम्पनी वा क्षेत्रमा कोषको कुल लगानीयोग्य रकमको अधिकतम २५ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने प्रस्ताव छ । यद्यपि क्षेत्रविशेषमा केन्द्रित कोषलाई आवश्यकताअनुसार क्षेत्रगत सीमामा छुट दिन सकिने व्यवस्था राखिएको छ । कोष व्यवस्थापक र इकाइधनीले समान सर्तमा सहलगानी गर्न सक्ने भए पनि स्वार्थको द्वन्द्व तथा अनुचित क्रस होल्डिङ रोक्न आवश्यक प्रावधान समेटिएका छन् ।

कोष सञ्चालनलाई पारदर्शी र जवाफदेही बनाउन प्रत्येक कोषका लागि छुट्टै लगानी समिति गठन गर्नुपर्नेछ । कोषको सम्पत्ति व्यवस्थापकको सम्पत्तिबाट अलग राख्नुपर्ने, एउटा कोषको सम्पत्ति अर्को कोषको दायित्व भुक्तानीमा प्रयोग गर्न नपाइने तथा प्रत्येक कोषको छुट्टै बैंक खाता, लेखा र अभिलेख राख्नुपर्ने प्रस्ताव गरिएको छ । साथै, वर्षमा कम्तीमा एकपटक स्वतन्त्र मूल्यांकनकर्ताबाट लगानीको मूल्यांकन गराउनुपर्नेछ ।

लगानी गर्नुअघि लगानीकर्ताको पहिचान, आर्थिक क्षमता, जोखिम वहन क्षमता र लगानी अनुभव परीक्षण गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा छ । इकाइधनीको दायित्व आफूले खरिद गरेको इकाइसम्म सीमित रहनेछ । उनीहरूलाई मतदान गर्ने, नाफा प्राप्त गर्ने र लगानीसम्बन्धी जानकारी पाउने अधिकार प्रदान गरिने प्रस्ताव छ ।
कोष र कोष व्यवस्थापकको छुट्टाछुट्टै लेखापरीक्षण गर्नुपर्नेछ । आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण भएको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन बोर्डमा पेस गर्नुपर्ने व्यवस्था छ । इकाइधनीको वार्षिक सभा सञ्चालन गरी त्यसको प्रतिवेदनसमेत बोर्डमा बुझाउनुपर्नेछ ।

विदेशी कोष तथा कोष व्यवस्थापकले नेपालमा सहायक कम्पनी स्थापना गरेर वा स्थानीय अनुमतिप्राप्त कोष व्यवस्थापकमर्फत कोष परिचालन गर्न सक्ने प्रस्ताव गरिएको छ । विदेशी लगानीकर्ताले समेत कोषका इकाइ खरिद गर्न पाउनेछन् । आवश्यक स्वीकृति र लेखांकन प्रक्रिया पूरा गरी विदेशी लगानी तथा त्यसबाट प्राप्त मुनाफा विदेश फिर्ता लैजान सकिने व्यवस्था पनि मस्यौदामा समेटिएको छ । यसबाट विदेशी संस्थागत पुँजी, प्रविधि, व्यवस्थापकीय ज्ञान र अन्तर्राष्ट्रिय लगानी सञ्जाल भित्र्याउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

बोर्डले कोष व्यवस्थापकको लेखा, अभिलेख र कारोबार जुनसुकै समयमा निरीक्षण गर्न सक्नेछ । कोषको आकार, जोखिम, लगानी रणनीति र लगानीकर्ताको प्रकृतिका आधारमा विशेष निरीक्षण गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट, अर्थ मन्त्रालयको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ र बोर्डको पुँजी बजार नीतिको कार्यान्वयनका क्रममा मस्यौदा तयार गरिएको सेबोनले जनाएको छ । बोर्डले मस्यौदामाथि सरोकारवाला निकायबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको छ । प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी अन्तिम नियमावली तयार गर्ने प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ ।

1

Scroll to Top