Banijya News

बीमा कम्पनीलाई प्रिमियममा सेयर निष्कासन र सहवित्तीयकरण कर्जामा लगानीको बाटो खुल्दै

1
1.0K Shares

सरकारले बीमा कम्पनीहरूलाई प्रिमियम मूल्यमा सेयर निष्कासन तथा सहवित्तीयकरण कर्जामा लगानी गर्न दिने गरी बीमा ऐन, २०७९ संशोधनको प्रस्ताव अघि सारेको छ । सरकारले तयार पारेको अध्यादेशको मस्यौदामा बीमा कम्पनीको लगानीको दायरा विस्तार गर्नुका साथै सेयर स्वामित्व र संस्थागत सुशासनसम्बन्धी व्यवस्थामा समेत परिवर्तन प्रस्ताव गरिएको हो ।

मस्यौदाअनुसार बीमा कम्पनीका सञ्चालकलाई पदमा रहँदा तथा पदबाट अलग भएको एक वर्षसम्म सम्बन्धित कम्पनी वा त्यसको सहायक कम्पनीको सेयर कारोबार गर्न रोक लगाउने प्रस्ताव गरिएको छ । यसअघि कार्यकारी प्रमुखलगायतका पदाधिकारीलाई यस्तो प्रतिबन्ध लागू भए पनि सञ्चालकलाई स्पष्ट रूपमा समेटिएको थिएन। नयाँ व्यवस्थाले सञ्चालकको स्वार्थको द्वन्द्व नियन्त्रण र संस्थागत सुशासन कायम गर्न खोजेको देखिन्छ ।

त्यस्तै, बीमा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा मूल्यांकनको आधार, सम्भावित जोखिम तथा सम्बन्धित पक्षको स्वार्थ विवरणपत्रमा खुलाउनुपर्ने प्रस्ताव छ । सेयर निष्कासन मूल्य र विवरणपत्रको स्वीकृति नेपाल धितोपत्र बोर्डबाट लिनुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।

सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका बीमकबाहेकका संगठित संस्थालाई बीमा कम्पनीमा सेयर लगानी गर्दा लागू हुने १५ प्रतिशतको सीमाबाट छुट दिने प्रस्ताव गरिएको छ । साथै, संस्थापकको प्रत्यक्ष र अप्रत्यक्ष सेयर स्वामित्वलाई संयुक्त रूपमा गणना गर्ने व्यवस्था अघि सारिएको छ ।

यसैगरी, बीमा प्राधिकरणको पूर्वस्वीकृति लिएर बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा प्रवाह हुने सहवित्तीयकरण कर्जामा बीमा कम्पनी सहभागी हुन सक्ने प्रस्ताव गरिएको छ । यस्तो लगानी गर्नुअघि स्वतन्त्र रूपमा कर्जा जोखिम परीक्षण गर्नुपर्ने र त्यसबाट बीमितको दाबी भुक्तानी क्षमतामा असर पर्न नहुने सर्त राखिएको छ ।यद्यपि, यी सबै व्यवस्था हाल अध्यादेशको मस्यौदामा प्रस्ताव गरिएका विषय हुन् । यी प्रस्ताव लागू हुन आवश्यक कानुनी प्रक्रिया पूरा हुन बाँकी छ ।

1

Scroll to Top