Banijya News

गोलबजार उद्योग व्यापार संघको अध्यक्षमा महेश साह निर्वाचित

1
1.0K Shares

सिरहाको गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा महेश साह (कोक्वा) आफ्नो प्यानलसहित निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा साहले प्रतिस्पर्धी राजु गुप्ताको प्यानललाई पछि पार्दै अध्यक्षसहित अधिकांश पदमा आफ्नो समूहका उम्मेदवारलाई विजयी गराएका हुन्।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा साहले ७९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गुप्ताले ५४४ मत प्राप्त गरेका छन्। साहले गुप्तालाई २५० मतको फराकिलो अन्तरले पराजित गर्दै संघको नेतृत्वमा निर्वाचित भएका हुन्।

साह नेतृत्वको प्यानलले अन्य पदमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ। प्रथम उपाध्यक्षमा साह समूहका रामप्रमोद यादव ७६८ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी आनन्दकुमार यादवले ६०६ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा मोहम्मद सदाब खान ६८८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ओमप्रकाश साहले ६८३ मत प्राप्त गरेका छन्। यस पदमा खानले केवल पाँच मतको झिनो अन्तरले जित हासिल गरेका हुन्।

त्यस्तै, महासचिव पदमा अरविन्दकुमार सिंह ७५६ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी वीरेन्द्र सिंह (बैजु) ले ६२५ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा कपिलदेव साह ७७२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी प्रकाश साहले ५८९ मत प्राप्त गरेका छन्।

निर्वाचनबाट संघको सदस्य पदमा अमरकुमार मण्डल, संजय साह, वीरेन्द्रकुमार साह, मोहम्मद सहबाजुदीन, नागरेश्वर राय, सरोजकुमार साह, मुन्द्रिका कुमारी झा र पिंकी कुमारी मुखिया निर्वाचित भएका छन्। यससँगै साह नेतृत्वको समूहले संघको कार्यसमितिमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको छ।

निर्वाचनमा साहको प्यानललाई नेकपा, नेकपा एमाले तथा नेपाली कांग्रेसको एक पक्षसहित विभिन्न राजनीतिक दल र समूहले समर्थन गरेका थिए। यता अध्यक्ष पदका प्रतिस्पर्धी गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार थिए। उनलाई नेपाली कांग्रेसको एउटा समूहले समर्थन जनाएको थियो।

निर्वाचन अधिकृत सुरेश साहका अनुसार गोलबजार उद्योग व्यापार संघमा कुल एक हजार ६०३ मतदाता रहेका थिए। शुक्रबार सम्पन्न निर्वाचनमा एक हजार ४१६ मत खसेको थियो। खसेका मतमध्ये आठ मत पूर्ण रूपमा बदर भएका छन्।

1

Scroll to Top