वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया सरकारले अघि बढाउने भएको छ । वैदेशिक रोजगार विभागले फरार आरोपितहरूको आर्थिक कारोबार नियन्त्रण गर्न उनीहरूको विवरण संकलन गरी नेपाल राष्ट्र बैंकलाई पठाउने तयारी गरेको हो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार विभागले आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्राचार गर्ने तयारी गरेको छ । त्यसका लागि विभागका सम्बन्धित शाखाहरूलाई पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण तथा सूची तयार गर्न निर्देशन दिइएको छ ।
विभागले यसअघि दिएको ३५ दिने समयसीमा पूरा हुन लागेसँगै फरार आरोपितहरूको विवरण संकलनलाई तीव्रता दिएको हो । राष्ट्र बैंकलाई विवरण पठाइएपछि सम्बन्धित व्यक्तिहरूको बैंक खाता तथा वित्तीय कारोबार रोक्का गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
यसअघि विभागले कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो । तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गर्न कानुनी प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको थियो ।
वैदेशिक रोजगारका नाममा सर्वसाधारणलाई ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक गतिविधि नियन्त्रण गर्न यस्तो कदम चाल्न लागिएको मन्त्री यादवले बताएका छन् । बैंकिङ कारोबार रोक्का गर्दा फरार आरोपितहरूलाई कानुनी दायरामा ल्याउन दबाब पुग्ने र ठगीबाट पीडित भएकाहरूलाई न्याय दिलाउने प्रक्रियामा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
यद्यपि, वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको अभिलेख व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ । विभागका अनुसार हाल ३० हजारभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छन् । तर, पक्राउ पुर्जी जारी भएर फरार रहेका व्यक्तिहरूको यकिन संख्या भने सार्वजनिक हुन सकेको छैन ।
पुराना मुद्दाको विवरण व्यवस्थित नहुँदा फरार व्यक्तिहरूको पहिचान र अभिलेख संकलनमा समेत कठिनाइ भइरहेको विभागले जनाएको छ । त्यसैले विभागले सम्बन्धित शाखामार्फत पुराना तथा नयाँ मुद्दाका विवरण अद्यावधिक गर्ने काम पनि अघि बढाएको छ ।
फरार आरोपितहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया कार्यान्वयनमा आएमा वैदेशिक रोजगार ठगीमा संलग्न व्यक्तिहरूको आर्थिक गतिविधि नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, ठगी नियन्त्रण तथा पीडितको न्याय प्राप्तिको प्रक्रियालाई प्रभावकारी बनाउन यसले सहयोग पुग्ने विश्वास सरकारको छ ।


