सेयर बजारमा देखिएको सुस्तताको असर सरकारी राजस्व संकलनमा समेत देखिन थालेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर ३८.६ प्रतिशतले घटेको छ । कारोबारमा आएको कमी र लगानीकर्ताको कमजोर सक्रियताका कारण पुँजीगत लाभकर संकलन प्रभावित भएको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सरकारले सेयर कारोबारबाट २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर ३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ संकलन भएको थियो । यसरी एक वर्षको अवधिमा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर १ अर्ब ३० करोड ६० लाख रुपैयाँले घटेको हो ।
महिनागत तथ्यांक हेर्दा चालु आर्थिक वर्षको साउनमा पुँजीगत लाभकर संकलनमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । गत आर्थिक वर्षको साउनमा २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ संकलन भएकोमा चालु आर्थिक वर्षको सोही महिनामा ६२ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको तुलनामा ७१.०४ प्रतिशतको गिरावट हो । साउनमा भएको यही ठूलो गिरावटले समग्र चार महिनाको राजस्व संकलनलाई प्रभावित बनाएको देखिन्छ ।
यद्यपि, भदौ र असोजमा भने पुँजीगत लाभकर संकलनमा सुधार देखिएको छ । भदौमा सरकारले ६३ करोड २७ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ५.२० प्रतिशत बढी हो ।
त्यस्तै, असोजमा पुँजीगत लाभकर संकलन उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको असोजमा २४ करोड ३९ लाख रुपैयाँ संकलन भएकोमा चालु आर्थिक वर्षको असोजमा ४९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १०४.४३ प्रतिशतको वृद्धि हो ।
कात्तिकमा भने पुनः पुँजीगत लाभकर संकलन घटेको छ । समीक्षा महिनामा सरकारले ३२ करोड ११ लाख रुपैयाँ मात्रै कर प्राप्त गरेको छ । गत वर्षको कात्तिकमा ३८ करोड ५ लाख रुपैयाँ संकलन भएको थियो । यसअनुसार कात्तिकमा मात्रै पुँजीगत लाभकर १५.६१ प्रतिशतले घटेको हो ।
कात्तिकमा दसैँ, तिहारलगायतका चाडपर्वका कारण सेयर बजार जम्मा ११ दिन मात्रै सञ्चालन भएको थियो । महिनाका १९ दिन कारोबार बन्द हुँदा कारोबार गतिविधि र त्यसबाट प्राप्त हुने राजस्वमा समेत असर परेको देखिन्छ ।
सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर बजारमा भएको कारोबार रकममा मात्रै निर्भर हुँदैन । लगानीकर्ताले सेयर बिक्री गर्दा प्राप्त गरेको वास्तविक नाफा र त्यसमा लाग्ने करले पनि संकलन निर्धारण गर्छ । त्यसैले, कारोबार रकमसँगै बजारको मूल्य उतारचढाव र लगानीकर्ताको नाफाको अवस्थाले पनि सरकारी राजस्वमा प्रभाव पार्ने गर्छ ।
समग्रमा पछिल्लो चार महिनाको तथ्यांकले सेयर बजारमा अपेक्षित उत्साह फर्किन नसक्दा त्यसको असर सरकारी राजस्वमा समेत परेको देखिएको छ ।


