Banijya News

बाढी प्रभावित क्षेत्रका उद्योग पुनःस्थापनामा नेपाल र भारतका उद्योग परिसंघबीच सहकार्य हुने

1
1.0K Shares

नेपालका बाढी प्रभावित क्षेत्रमा उद्योग व्यवसाय पुनःसञ्चालन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र पुनर्जीवित गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच सहकार्य हुने भएको छ । एफएनसीसीआईसँगको साझेदारीमा भारतीय परिसंघले बाढीबाट प्रभावित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनःस्थापना र स्थानीय आपूर्ति शृंखला सुधारका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा शनिबार एफएनसीसीआई र सीआईआईबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीअनुसार बाढी प्रभावित क्षेत्रमा पहिलो चरणमा स्वास्थ्य तथा मानवीय सहायता उपलब्ध गराइनेछ भने त्यसपछि प्रभावित परिवारको आम्दानीका स्रोत पुनःस्थापना, उद्योग व्यवसाय पुनःसञ्चालन र आर्थिक गतिविधि विस्तारका कार्यक्रम अघि बढाइनेछ ।

सीआईआई र एफएनसीसीआईले तयार पारेको १३ पृष्ठको कार्ययोजनाअनुसार कार्यक्रमको पहिलो चरण सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । पहिलो चरणमा तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्दै दोस्रो चरणमा प्रभावित व्यवसायको पुनःस्थापना, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा जोड दिइनेछ ।

कार्ययोजनाले बाढीबाट प्रभावित लघु, साना तथा मझौला उद्यमलाई स्थानीय अर्थतन्त्र पुनर्जीवित गर्ने प्रमुख आधारका रूपमा लिएको छ । यसका लागि प्रभावित उद्योग व्यवसाय र स्थानीय मूल्य शृंखलामा परेको क्षतिको द्रुत मूल्यांकन गरिनेछ । एफएनसीसीआईले यसअघि बाढी प्रभावित क्षेत्रमा गरेको सर्वेक्षण तथा अध्ययनलाई समेत आधार बनाएर क्षतिको अवस्था पहिचान गर्ने योजना छ ।

क्षतिको मूल्यांकनपछि प्रभावित उद्यमलाई पुनःसञ्चालन गर्न प्राविधिक परामर्श, वित्तीय स्रोतसम्बन्धी जानकारी तथा बजार पहुँच विस्तारमा सहयोग गरिनेछ । कृषि, पशुपालन, साना व्यापार र सेवामूलक व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक औजार, उपकरण, उत्पादन सामग्री तथा प्रारम्भिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि कार्ययोजनामा छ ।

आर्थिक पुनःस्थापनाका कार्यक्रम सुरु गर्नुअघि प्रभावित समुदायलाई स्वास्थ्य तथा मानवीय सहायता उपलब्ध गराइनेछ । यसअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण र सरसफाइ सामग्री उपलब्ध गराउने योजना छ । त्यस्तै, आधारभूत जीवनरक्षक सुविधा (बीएलएस) सहितका दुई एम्बुलेन्स नेपालका दुई अस्पताललाई हस्तान्तरण गरिनेछ ।

कार्ययोजनाअनुसार एउटा एम्बुलेन्सले वार्षिक करिब ४०० बिरामीलाई अस्पताल पुर्‍याउन र ६ हजार नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सक्ने अनुमान गरिएको छ । यसअनुसार दुई एम्बुलेन्सबाट वार्षिक ८०० बिरामीलाई सेवा प्रदान गर्नुका साथै १२ हजार नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ ।

कार्यक्रमको प्रारम्भिक कार्यक्षेत्रमा बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र समेटिएका छन् । आवश्यकताको मूल्यांकनका आधारमा गोरखा, बागलुङ, मुस्ताङ र मनाङमा समेत कार्यक्रम विस्तार गर्न सकिने कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यवसायदेखि व्यवसायसम्मको सहकार्य (बीटुबी) कार्यक्रम सञ्चालन गरिने प्रस्ताव छ । काठमाडौंस्थित एफएनसीसीआईको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई भारतीय उद्योगीसँग जोड्ने योजना छ । यसबाट नयाँ व्यापारिक साझेदारी विकास, बजार पहुँच विस्तार तथा प्रभावित क्षेत्रको आपूर्ति शृंखला पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय बजारको माग र पुनर्निर्माणको आवश्यकतालाई ध्यानमा राखेर प्रभावित समुदायका लागि सीप विकास तथा व्यावसायिक तालिमसमेत सञ्चालन गरिनेछ । तालिम प्राप्त व्यक्तिलाई स्थानीय रोजगारदाता तथा एफएनसीसीआईका सदस्य व्यवसायसँग जोड्ने योजना छ । यस क्रममा महिला नेतृत्वका परिवार र अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।

कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकारको स्वीकृति लिनुका साथै सम्बन्धित सरकारी निकाय र स्थानीय तहसँग समन्वय गर्नुपर्नेछ । सीआईआईले भारत सरकार तथा सम्बन्धित निकायसँग समन्वय, स्रोत परिचालन र कार्यान्वयन साझेदार पहिचान गर्ने जिम्मेवारी लिनेछ । एफएनसीसीआईले भने नेपाल सरकार, स्थानीय तह र नेपाली व्यवसायी समुदायसँग समन्वय गर्नेछ ।

समझदारीपत्रमा सीआईआई अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजित सिंह साहनी र एफएनसीसीआईका उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

समझदारी एक वर्षका लागि लागू हुनेछ । यद्यपि, समझदारीले तत्काल कुनै पनि पक्षमाथि निश्चित आर्थिक दायित्व सिर्जना गरेको छैन । कार्यक्रम सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत र गतिविधिबारे छुट्टै लिखित सहमति गर्नुपर्ने व्यवस्था गरिएको छ । थप कार्यक्रम, स्रोत परिचालन तथा वित्तीय व्यवस्थासम्बन्धी सहमति दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

1

Scroll to Top