Banijya News

अन्नपूर्ण क्षेत्रमा चार महिनामै सवा लाखभन्दा बढी विदेशी पर्यटक

1
1.0K Shares

अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । चालु वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो । यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् ।

संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ५२ हजार ८८६ जना रहेका छन् । बाँकी पर्यटक अन्य देशका हुन् । असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यी दुई महिनामा पर्यटक आगमन बढी हुने गरेको उनको भनाइ छ ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्दै आएको छ । सडक मार्ग हुँदै अन्नपूर्ण क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकको संख्या भने यसमा समावेश छैन । सडकमार्गबाट पनि बर्सेनि ठूलो संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा तथा प्राकृतिक सौन्दर्यको अवलोकन गर्न चाहने पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित छ । यहाँ पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानीलगायतका गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण रहने गरेको छ ।

७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन र मौलिक संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको यस क्षेत्रमा विभिन्न स्थानबाट छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिन्छ ।

1

Scroll to Top