भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले नेपालका जनता र सरकारका तर्फबाट गान्धीप्रति सम्मान व्यक्त गर्दै उनका आदर्शले विश्वमा शान्ति, न्याय र सद्भाव कायम गर्न प्रेरणा दिइरहने विश्वास व्यक्त गरेका छन्।
राजघाटस्थित गान्धीको समाधिस्थलमा पुगेका प्रधानमन्त्री शाहले त्यहाँ रहेको आगन्तुक पुस्तिकामा आफ्नो सन्देश लेखेका छन्। उनले गान्धीको जीवनले सत्यमा कुनै पनि शक्तिभन्दा अतुलनीय सामर्थ्य हुने प्रमाणित गरेको उल्लेख गरेका छन्।
भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले गान्धीको विरासतमा पनि बुद्धका शिक्षामा झैँ अमर प्रकाश देखेको बताएका छन्। उनले करुणालाई सर्वोच्च शक्ति र वास्तविक नेतृत्वलाई समाजका सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवाका रूपमा व्याख्या गरेका छन्।
प्रधानमन्त्री शाहले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणका लागि भइरहेको साझा प्रयासलाई सधैँ उज्यालो बनाइरहने विश्वाससमेत व्यक्त गरेका छन्।
उनले नेपाल र भारतबीचको सम्बन्ध साझा भूगोलमा मात्र सीमित नरहेको उल्लेख गरेका छन्। दुई देश आस्था, आत्मीयता र अटुट मित्रताको ऐतिहासिक विरासतबाट जोडिएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले पारस्परिक सम्मान, इमानदारी र अटल विश्वासका आधारमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन्।
राजकीय सम्मानपछि उच्चस्तरीय वार्ता
प्रधानमन्त्री शाहले राजघाटमा श्रद्धाञ्जली अर्पण गर्नुअघि नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा गार्ड अफ अनर ग्रहण गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित समारोहमा मोदीले शाहलाई स्वागत गरेका थिए। राष्ट्रपति भवनमा प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले अंकमाल गरेर स्वागत गरेका थिए। त्यसपछि शाहले भारतीय सरकारको तर्फबाट प्रदान गरिएको राजकीय सम्मान ग्रहण गरेका थिए।
राजघाटबाट फर्किएपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम रहेको छ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। उक्त वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको ऐतिहासिक सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


