नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत बराबर हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । विनिमय दरमा भएको लाभका कारण चार महिनाको अवधिमा कुल ऋण दायित्व ६ अर्ब ५८ करोड ४८ लाख रुपैयाँले घटेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले उपलब्ध गराएको ३ करोड ३० लाख ३४ हजार ४० जनसंख्याको आधारमा हिसाब गर्दा प्रत्येक नेपालीको भागमा औसत ९९ हजार १६५ रुपैयाँ सार्वजनिक ऋण पर्न आउँछ । यसले मुलुकको सार्वजनिक ऋणको आकार जनसंख्याको तुलनामा पनि ठूलो रहेको देखाउँछ ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर, कात्तिक मसान्तसम्ममा एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएको छ । चार महिनाको अवधिमा आन्तरिक ऋणतर्फ एक खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ ।
यसअनुसार आन्तरिक ऋण परिचालनको प्रगति वार्षिक लक्ष्यको ३०.४९ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण परिचालनको प्रगति ११.६२ प्रतिशतमा सीमित छ । प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको छ ।
वार्षिक लक्ष्यअनुसार सरकारले अझै पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ जुटाउनुपर्ने देखिन्छ । विशेषगरी वैदेशिक ऋण परिचालनको प्रगति न्यून रहेकाले बाँकी अवधिमा सरकारले ऋण परिचालनको गति बढाउनुपर्ने अवस्था छ ।
यता, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा पनि सरकारले ठूलो रकम खर्च गरिरहेको छ । चालु आर्थिक वर्षका लागि ऋण सेवा खर्चबापत सरकारले ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्ममा एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो ।
चार महिनामा भएको कुल ऋण सेवा खर्च जीडीपीको २.१४ प्रतिशत बराबर रहेको छ । यसमध्ये आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
आन्तरिक ऋण भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कात्तिक मसान्तसम्ममा यस शीर्षकमा एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ खर्च भएको हो । यो वार्षिक विनियोजनको ३६.३२ प्रतिशत हो । आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । यसअनुसार साँवा भुक्तानीमा वार्षिक बजेटको ४०.६४ प्रतिशत र ब्याज भुक्तानीमा २३.४० प्रतिशत खर्च भइसकेको छ ।
त्यसैगरी, वैदेशिक ऋण भुक्तानीका लागि सरकारले ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये कात्तिक मसान्तसम्ममा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको २४.२३ प्रतिशत हो ।
वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । वार्षिक विनियोजनको आधारमा वैदेशिक ऋणको साँवा भुक्तानीमा २४.०७ प्रतिशत र ब्याज भुक्तानीमा २४.९० प्रतिशत खर्च भइसकेको छ ।
सरकारको कुल सार्वजनिक ऋण जीडीपीको ४५ प्रतिशतभन्दा माथि पुगेको अवस्थामा ऋण परिचालन र भुक्तानी व्यवस्थापन दुवै महत्वपूर्ण चुनौतीका रूपमा देखिएका छन् । एकातिर विकास निर्माण तथा सार्वजनिक खर्चका लागि सरकारले ऋण परिचालन गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ साँवा र ब्याज भुक्तानीमा ठूलो बजेट खर्च हुँदा अन्य विकास तथा सेवा प्रवाहका क्षेत्रमा उपलब्ध हुने वित्तीय स्रोतमा दबाब पर्न सक्ने देखिन्छ ।


