प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भइरहेको उच्चस्तरीय द्विपक्षीय वार्तापछि नेपाल र भारतबीच विभिन्न समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री शाहको औपचारिक भारत भ्रमणका क्रममा दुई देशबीच आपसी हित, सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ ।
भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी छ । वार्तामा दुई देशबीचको सम्बन्धका विविध पक्ष, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय वार्ता सम्पन्न भएपछि नेपाल र भारतबीच तय भएका समझदारीपत्र (एमओयू) तथा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । यद्यपि, कुन–कुन क्षेत्रमा कस्ता समझदारी तथा सम्झौता हुन लागेका हुन् भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस क्रममा उनीहरूले द्विपक्षीय वार्ताका निष्कर्ष, भ्रमणका उपलब्धि र आगामी सहकार्यका विषयमा जानकारी गराउने अपेक्षा गरिएको छ ।
प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु हुनुअघि प्रधानमन्त्री शाह र मोदीबीच छुट्टै भेटवार्तासमेत भएको थियो। द्विपक्षीय वार्तामा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् ।
त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायत उच्च सरकारी अधिकारीहरू सहभागी छन् ।
प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ । उच्चस्तरीय भेटवार्तापछि हुने सम्झौता र समझदारीले दुई देशबीचको आर्थिक, कूटनीतिक तथा अन्य क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।


