प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को औपचारिक भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारी भएको छ ।
भारत भ्रमणको दोस्रो दिन सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि आठवटा विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुई देशबीच सुरक्षा, अपराध अनुसन्धान, सरकारी कर्मचारीको क्षमता विकास, स्वास्थ्य, अन्तरिक्ष प्रविधि, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित विषयमा सहकार्य गर्ने सहमति भएको छ ।
यी हुन् नेपाल र भारतबीच भएका आठ समझदारी
शैक्षिक तथा अनुसन्धानमा सहकार्य
भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ ।
प्रहरी प्रशिक्षण तथा क्षमता विकास
भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
निजामती कर्मचारीलाई प्रशासनिक प्रशिक्षण
भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपालका सरकारी अधिकारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
आयुर्वेद तथा परम्परागत चिकित्सा प्रवर्द्धन
नेपाल र भारतले आयुर्वेद तथा अन्य परम्परागत उपचार पद्धतिको विकास र प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी गरेका छन् ।
स्याटेलाइट सञ्चार प्रणाली निर्माण
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटलाइटको उपयोगका लागि स्याटलाइट सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ । यो सहकार्यले नेपालमा अन्तरिक्षमा आधारित सञ्चार प्रविधिको उपयोग विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा छ ।
दिगो सहरी विकासमा प्राविधिक सहकार्य
नेपाल र भारतले दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने समझदारी गरेका छन् ।
स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा साझेदारी
दुई देशबीच स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रको विकासका लागि आपसी सहकार्य विस्तार गर्ने सहमति भएको छ ।
पशुपालन तथा मत्स्यपालन विकासमा सहकार्य
नेपाल र भारतले पशुपालन तथा मत्स्यपालनको विकासमा सहकार्य गर्ने समझदारी गरेका छन् । यसबाट कृषि क्षेत्रको आधुनिकीकरण तथा उत्पादन क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारीले नेपाल–भारत सहकार्यको दायरा थप फराकिलो बनाएको छ । यसअघि दुई देशबीच व्यापार, पारवहन, ऊर्जा तथा भौतिक पूर्वाधारका विषयले प्राथमिकता पाउँदै आएकोमा यसपटक सुरक्षा प्रविधि, प्रशासनिक क्षमता विकास, स्वास्थ्य तथा अन्तरिक्ष सञ्चारजस्ता क्षेत्र पनि समझदारीको महत्वपूर्ण हिस्सा बनेका छन् । यद्यपि, समझदारीअनुसारका कार्यक्रम कहिलेदेखि कार्यान्वयन हुने, कति लगानी आवश्यक पर्ने र कुन पक्षले कस्तो जिम्मेवारी लिने भन्ने विस्तृत कार्ययोजना सार्वजनिक भएको छैन ।


