प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
प्रधानमन्त्री बालेन आइतबार ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग र साझा हितका विभिन्न विषयमा छलफल भएको जनाइएको छ। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत दुई देशबीच भएका सहमति तथा सहकार्यका विषय सार्वजनिक गरेका थिए।
सोही अवसरमा विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्याससमेत गरिएको थियो। नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, व्यापार तथा सम्पर्क सञ्जाल विस्तारलगायत क्षेत्रमा सहकार्यलाई अगाडि बढाउने विषय भ्रमणका महत्वपूर्ण उपलब्धिका रूपमा रहेका छन्।
प्रधानमन्त्री शाहले सोमबार नै भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी सहभागी थिए।
२४ बुँदे संयुक्त वक्तव्य जारी
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपाल र भारतले २४ बुँदे संयुक्त प्रेस वक्तव्य जारी गरेका छन्। वक्तव्यमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक विकास, पूर्वाधार निर्माण र आपसी सहकार्य विस्तार गर्ने विषय समेटिएका छन्। भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन) जारी गरिएको छ। संयुक्त वक्तव्यको सातौँ बुँदामा दुवै देशका प्रधानमन्त्रीले उक्त दृष्टिकोणपत्र सार्वजनिक गरेको उल्लेख छ।
यसले नेपालको समृद्धि र भारतको विकास यात्रालाई एकअर्कासँग जोड्दै द्विपक्षीय साझेदारीलाई नयाँ आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा सञ्चालन तथा उद्घाटनसम्बन्धी विषय पनि संयुक्त वक्तव्यमा समेटिएको छ। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सञ्जालमार्फत थप मजबुत बनाउने उद्देश्यले यसलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
यस्तो छ संयुक्त प्रेस वक्तव्य
नेपालका प्रधानमन्त्रीको भारतको राजकीय भ्रमणसम्बन्धी संयुक्त प्रेस विज्ञप्ति
(२२–२३ नोभेम्बर २०२६)
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री सम्माननीय बालेन्द्र शाहले २२ देखि २३ नोभेम्बर २०२६ सम्म भारतको राजकीय भ्रमण गर्नुभएको छ। उहाँसँग उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि सहभागी थियो। प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हो।
२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्नुभयो।
३. भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, साझा चासोका क्षेत्रीय विषय तथा विश्वव्यापी घटनाक्रम समेटिएका थिए।
४. प्रधानमन्त्री शाहले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारतले प्रदान गरेको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गर्नुभयो।
५. प्रधानमन्त्री मोदीले निकट मित्र तथा छिमेकी राष्ट्रका रूपमा नेपालको विकास यात्रामा भारतको अविचलित समर्थन रहने प्रतिबद्धता दोहोर्याउनुभयो।
भारतले नेपालको विकासका लागि कुल १५ हजार करोड भारतीय रुपैयाँ (२ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउनेछ। यसअन्तर्गत विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ (५६ अर्ब नेपाली रुपैयाँ) अनुदान सहायता उपलब्ध गराइनेछ। त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ (१ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ) बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराइनेछ।
विकास सहायताअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजना तथा सहायता उपलब्ध गराउने प्रक्रियालाई आपसी परामर्शमार्फत अन्तिम रूप दिइनेछ।
६. दुवै नेताले नेपालमा सञ्चालित विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगति, विशेषगरी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिबारे पनि उहाँहरूले चर्चा गर्नुभयो। भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणालाई दुवै नेताले स्वागत गर्नुभयो।
७. दुई नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन) जारी गर्नुभयो।
उक्त संयुक्त दृष्टिकोणपत्रले भारत र नेपालबीचको महत्त्वाकांक्षी तथा भविष्यउन्मुख साझेदारीका लागि मार्गचित्र प्रस्तुत गरेको छ। यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलियो रहेका द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहल समेटिएका छन्। साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका सम्भावना पनि समेटिएका छन्।
८. दुवै नेताले हवाई सम्पर्क विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले नागरिक उड्डयनका विषयमा भइरहेको छलफललाई सकारात्मक रूपमा लिनुभयो।
दुवै पक्ष काठमाडौँ–भैरहवा–लखनउबीच हाल सञ्चालनमा रहेको एकतर्फी बी३४५ हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिमा पुगेका छन्। यससम्बन्धी प्रक्रिया र कार्यविधि अन्तिम रूप दिन तथा दुवै पक्षबीच छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक तहमा परामर्श गरिनेछ।
९. प्रधानमन्त्री मोदीले भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नेपालको पारवहन व्यापारका लागि नयाँ मार्ग उपलब्ध गराउने घोषणा गर्नुभयो। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच उपलब्ध गराइनेछ।
१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) तथा पेट्रोलियम पाइपलाइन निर्माणमार्फत सीमापार सम्पर्क सञ्जाल र सीमा पूर्वाधार सुधारको महत्त्वमा जोड दिनुभयो।
११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको औपचारिक शुभारम्भ गर्नुभयो।
यस रेल सेवाले दुई देशबीचको सम्पर्क सञ्जाल सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न र भारत–नेपालबीचको सभ्यतागत सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ।
दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै रेल सम्पर्क विस्तारको सम्भावना खोज्ने सहमति पनि गर्नुभयो।
१२. प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण अन्तिम रूप दिइएको दुवै नेताले घोषणा गर्नुभयो। साथै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।
१३. दुवै नेताले बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास भर्चुअल माध्यमबाट गर्नुभयो। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माण भइरहेका एकीकृत जाँच चौकीको प्रगतिलाई पनि स्वागत गर्नुभयो। भारत र नेपालबीच तीनवटा एकीकृत जाँच चौकी यसअघि नै सञ्चालनमा आइसकेका छन्।
१४. भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार सवारीसाधन आवतजावत गर्न मिल्ने पुलको दुवै नेताले उद्घाटन गर्नुभयो। यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सुधार गर्न सहयोग पुग्नेछ।
१५. दुवै नेताले सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनासम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। बाँकी रहेका सीमा समस्याको समाधानका लागि काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीच सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा दुवै नेताले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतामा समर्पण गर्नुभयो।
दुवै नेताले नेपालका झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास भर्चुअल माध्यमबाट गर्नुभयो। साथै सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य चाँडै सुरु गर्नुपर्ने महत्त्वमा जोड दिनुभयो।
दुवै पक्षले भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावनासमेत खोज्ने सहमति जनाएका छन्।
१७. भारत–नेपाल विद्युत् क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भइरहेको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय सहभागितालाई दुवै पक्षले स्वागत गरेका छन्। भारतीय कम्पनीहरूले नेपालमा निर्माण गरिरहेका विभिन्न जलविद्युत् आयोजनाको काम शीघ्र सम्पन्न गर्ने सहमति पनि भएको छ।
यस अवसरमा दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भर्चुअल माध्यमबाट गर्नुभयो।
१८. दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यथाशीघ्र अन्तिम रूप दिन र परियोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिनुभयो।
त्यस्तै, जलस्रोतको पारस्परिक लाभका लागि उपयोग तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माण कार्य पनि तीव्र बनाउनुपर्नेमा दुवै नेता सहमत हुनुभयो।
१९. नेपाल र भारतबीच इनरुवा (नेपाल)–न्यु पूर्णिया (भारत) तथा दोधारा (नेपाल)–बरेली (भारत) जोड्ने उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी कम्पनी (जेभी) गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
२०. नेपालमा भारतको विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोग विस्तार गर्ने क्रममा भारतले नेपालमा आईआईटीको विदेशस्थित क्याम्पस स्थापना गर्ने सहमति दुवै नेताले गर्नुभयो।
यसले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना गर्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।
दुवै नेताले प्रविधि, स्टार्टअप तथा डिजिटल र वित्तीय सम्पर्क सञ्जालका क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।
२१. एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चारलगायतका सेवा सहज रूपमा प्राप्त गर्न दुवै पक्षले पारस्परिक सहजीकरण गर्नुपर्ने आवश्यकता स्वीकार गरेका छन्।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्न समझदारीपत्र (एमओयू) आदानप्रदान भएका छन् ः
१. भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच समझदारीपत्र।
३. भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रमसम्बन्धी समझदारीपत्र।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा सहकार्य गर्न भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
५. दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार (स्याटकम) सञ्जाल स्थापना गर्न भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र।
६. दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्न भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
७. स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्न भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारीपत्र।
८. पशुधन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्न भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनुभयो।
भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्नुभएको छ। भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित छ। जनस्तरको बलियो सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले यस साझेदारीलाई थप सुदृढ बनाएको छ।
यस भ्रमणले दुवै देशबीच नियमित रूपमा हुँदै आएका उच्चस्तरीय भ्रमणको परम्परालाई पुनः पुष्टि गर्नुका साथै यसलाई अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई उजागर गरेको छ।


